‘१०-५ को जागिर खान आएका होइनौँ, देश र जनताका लागि दिनरात नभनी काम गरिरहेका छौँ’

हिमाल प्रेस २९ पुष २०८१ १३:४९ | Monday, January 13, 2025
‘१०-५ को जागिर खान आएका होइनौँ, देश र जनताका लागि दिनरात नभनी काम गरिरहेका छौँ’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन्।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गरे।

उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको बताए।

अध्यादेशलाई राति राति जारी गर्‍यो भनेर सम्प्रेषण गरिएको भन्दै ओलीले देश र जनताका पक्षमा आफूहरूले दिन र रात नभनी काम गरेको जिकिर गरे। ‘हामी १०-५ को जागिर खान आएका होइनौँ। देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुुन्छ। लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन। देशका हितमा खुलेआम काम गर्ने हो,’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र? के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र ?’

सञ्चार क्रियाकलापका नाममा कीर्ते र जाली काम रोक्ने काम गर्न सरकारले कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यले भूमिका हुने विश्वास दिए।

सो अवसरमा महासंघका अध्यक्ष निर्मला शर्मासहितका पदाधिकारी र सदस्यलाई प्रधानमन्त्री ओलीले बधाई दिए भने महासंघका अध्यक्ष र महासचिव रामप्रसाद दाहालले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा ध्यानाकर्षण गरेका थिए।

प्रकाशित: २९ पुष २०८१ १३:४९ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast