वर्तमान सरकार सत्ताकै लागि बनेको हो : घनश्याम भुसाल

हिमाल प्रेस २७ पुष २०८१ १८:०४ | Saturday, January 11, 2025
वर्तमान सरकार सत्ताकै लागि बनेको हो : घनश्याम भुसाल

लुम्बिनी– नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेस र एमालेको वर्तमान सरकार सत्ताकै लागि मात्रै बनेको टिप्पणी गरेका छन्।

नेकपा एकिकृत समाजावादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताएका हुन्।

उनले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा गरे पनि त्यो गर्नका लागि नभई सत्तामा पुग्नका लागि मात्रै गरिएको बताए।

‘संविधानको कुरा या त नसोचेर ल्याए, या त झुक्याउन ल्याए’ उनले भने। उनले संविधान सन्तुलित रहेकाले यो संशोधन गर्न दुई दलमात्रै मिलेर सम्भव नै नरहेको बताए।

‘हाम्रो संविधान भयंकर सन्तुलित छ, यो संविधान संशोधन कांग्रेस र एमालेले चाहेर मात्रै सम्भव नै छैन,’ महासविच भुसालले भने।

उनले केपी ओली नेतृत्वको वर्तमान सरकार केही पनि काम नगर्नका लागि बनेको दाबी गरे। ‘एउटा भारतसँग रिसाएको छ, कांग्रेसलाई बीआरआईको नाम लिनेबितिकै ज्वरो आएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिले पनि गर्दैनन्, यी दुई दलले केही पनि गर्दैनन्।’

उनले वर्तमान सरकार विभिन्न काण्डहरुको स्वार्थसँग जोडिएकाले सत्ता जोगाउने बाहेक केही नगर्ने बताए।

भुसालले सरकारले रास्वपाका सभापति रवि लामिछानेको सन्दर्भममा एकै ठाउँमा मुद्धा चलाए हुनेमा बढी दुःख दिएको भान जनताले गरेको बताए। उनले राज्यले व्यक्तिगत बदला लिन नहुने बताउँदै सरकारकै कारण सडकमा गैरजिम्मेवार व्यक्तिहरुको आन्दोलन शुरु भएको बताए।

‘वर्तमान सरकारले नालयकी गर्छ, नालयकीको विरोध हुन्छ, त्यसले गैरजिम्मेवार व्यक्तिहरु अगाडि आउन सक्छन्,’ महाुचिव भुसालले भने।

अगुवा कार्यकर्ताहरु समेत भएको बैठकमा महासचिव भुसालले अब नेकपा एकिकृत समाजवादी पार्टीलाई आन्दोलनबाट स्थापित गर्ने बताए। उनले स्थानीय, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरका समस्यालाई आन्दोलनका रुपमा अगाडि बढाएर ८४ को निर्वाचनसम्म स्पष्ट मुद्धा बोक्ने पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए।

उनले राष्ट्रिय पुँजीको विकास गरी सुदृढ मुलुक बनाउनुपर्ने बताउँदै त्यसका लागि अब कांग्रेस एमालेको विकल्पमा आफूहरुको पार्टीले नयाँ कार्यक्रम ल्याएर जनताको बीचमा आउने दावी गरे।

प्रकाशित: २७ पुष २०८१ १८:०४ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast