पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम [फोटो फिचर]

हिमाल प्रेस २७ पुष २०८१ १५:०५
4
SHARES
पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम [फोटो फिचर] तस्बिर : नेपाली सेना

काठमाडौँ– राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार सैनिक मुख्यालय जङ्गी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको छ। प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियता’ तथा ‘पृथ्वी नारायण शाहको दिव्योपदेश’ सम्बन्धी प्रवचन, ‘एकताको बीज’ नामक लघु नाटक प्रदर्शन र कविता प्रस्तुत गरिएको थियो।

समारोहमा प्रमुख सेनानी चन्द्रशेखर काप्रीले ‘जन्मेर आउ’, उपसेनानी बलदेव केसीले ‘राष्ट्र निर्माताको देन’ र प्राविधिक जम्दार देवीप्रसाद बरालले ‘एकताको मियो’, सैनिक आवासीय महाविद्यालय भक्तपुरका छात्र उत्सव आचार्यले ‘पृथ्वी सन्देश’, राष्ट्रिय सेवादलका क्याडेट तात्रा सलिना खड्काले ‘नेपाल : एकता र साहसको प्रतिविम्ब’ र रोशनी तण्डुकारले ‘मेरो घर, मेरो महिमा’ शीर्षकको कविता प्रस्तुत गरे।

सो अवसरमा इतिहासविद् प्राडा. राजाराम सुवेदी र प्राध्यापक डा. त्रिरत्न मानन्धरले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका र उनको दिव्योपदेशसम्बन्धी प्रवचन दिएका थिए। समारोहमा प्रधान सेनापति सिग्देलले कविता प्रतियोगितामा सकल दर्जा र सैनिक महाविद्यालय र राष्ट्रिय सेवादलतर्फ उत्कृष्ट हुनेलाई पुरस्रकार र प्रमाणपत्र तथा प्रवचनकर्तालाई प्रसंशापत्र प्रदान गरे।

उपरथी दीपककुमार बानियाँले पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले प्रत्येक वर्ष जङ्गी अड्डादेखि युनिट तहसम्म विविध कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए। यसवर्षको पृथ्वी जयन्तीका अवसरमा शाहको जीवनी, दिव्योपदेशसम्बन्धी ५२ वटा प्रवचन, चार वटा पदयात्रा कार्यक्रम, २६ वटा अनुसन्धानात्मक आलेख, कविता, वक्तृत्वकला प्रतियोगिता, दौड र विभिन्न पेसागत कला प्रदर्शन भएका छन्।

सेनाले सञ्चालन गरेको विविध क्रियाकलापमा करिब ११ हजार पाँच सय फौज प्रत्यक्षरुपमा सहभागी भएको थिए। उपरथी बानियाँले जङ्गी अड्डा तहमा सैनिक महाविद्यालयस्तरीय लघु नाटक प्रतियोगिता, सकल दर्जा, सैनिक महाविद्यालय र राष्ट्रिय सेवा दलका क्याडेट सम्मिलित कविता प्रतियोगितासमेत सञ्चालन गरिएको जानकारी दिए।

नेपाली सेनाले पृथ्वी नारायण शाहलाई आफ्नो संस्थापक मान्दै आइरहेको छ। ‘दिवसका सन्दर्भमा गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रालाई निरन्तरता दिइएको छ। प्रत्येक वर्ष सञ्चालन हुँदै आएको ऐतिहासिक साँगुरीगढी पदयात्रा कार्यक्रम यसवर्ष सुनसरीको फुस्रेबाट धनकुटाको पाख्रिबाससम्म थप गरी सञ्चालन गरिएको छ,’ कार्यरथी बानियाँले भने।

सेनाले पहिलो पटक उदयपुर जिल्लामा उदयपुरगढी–चौदण्डीगढी पदयात्रा र इलाममा इलाम नगरपालिका, जोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको अगुवाइ र नेपाली सेनाको संयोजकत्वमा नेपाल–भारत सीमानामा पर्ने छब्बीसेदेखि माइस्थानसम्म करिब ३९ किमी दूरीको निशान पदमार्ग पदयात्रा कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ।

सेनाले सामरिक र पर्यटकीय दृष्टिबाट महत्वपूर्ण पदमार्गहरु तथा गढी किल्लाको पहिचान, सञ्चालन सम्बर्द्धन र प्रचारप्रसारमा पूरातत्व विभाग, पर्यटन विभाग र अन्य सरोकारवाला निकायसँगको समन्वयमा काम अघि बढाइएको उपरथी बानियाँले जानकारी दिए।

राष्ट्रिय एकता प्रवद्र्धन केन्द्रित कार्यक्रमबाट पृथ्वीनारायण शाहको योगदानको सम्मान हुनुका साथै राष्ट्रिय एकताको भावना थप मजबुद हुने नेपाली सेनाको विश्वास छ। कार्यक्रममा पूर्वप्रधान सेनापति, पूर्वरथीवृन्द, रथीवृन्द, प्राध्यापक, इतिहासविद्लगायत उपस्थित थिए। त्यसअघि प्रधानसेनापति सिग्देलले जङ्गी अड्डा परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेका थिए। त्यसअवसमा सेनाको टुकडीले राष्ट्र निर्माता सलामी अर्पण गरेको थिए।

प्रकाशित: २७ पुष २०८१ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast