आस्थाको संगम कुम्भ। तीर्थराज प्रयागदेखि इलाहाबाद अनि प्रयागराजसम्म महाकुम्भको विकासको कथा रोचक छ। महाकुम्भ मेला भारतको एक भव्य धार्मिक पर्व हो। यस्तो पर्व जसको जति ऐतिहासिक महत्त्व छ, उति नै आध्यात्मिक पनि। यसको जरा प्राचीन भारतीय ग्रन्थहरूमा गडेको छ। कुम्भ ‘संगम नगरी’ मा करोडौँ भक्तको ‘समागम’को एउटा अवसर हो।
कुम्भले परम्परा, पुराना कथा र आध्यात्मिकताको सही अर्थमा प्रतिनिधित्व गरेको छ। ब्रिटिस इतिहासकार सर सिड्नी लोले आफ्नो पुस्तक ‘इन्डिया अफ द इन्डियन्स’ (१९२८) मा १९०६ को इलाहाबाद (प्रयागराजको पुरानो नाम) कुम्भलाई सम्झिँदै लेखेका छन्, ‘यसभन्दा प्रभावशाली, मन लोभ्याउने र यसभन्दा आवश्यक पर्व सारा देशभरि अर्को हुन सक्दैन।’
यसको ६२ वर्षपछि १९९० मा अर्को पुस्तक प्रकाशित भयो, ‘द एलिफेन्ट एन्ड द लोटस : ट्राभल्स इन इन्डिया।’ यो पनि एकजना ब्रिटिस लेखकले लेखेका हुन्। उनी थिए प्रख्यात पत्रकार र बीबीसीका भारतस्थित तत्कालीन संवाददाता मार्क टुली। उनले लेखेका छन्, ‘भारतमा मैले बिताएको लामो समयका क्रममा कुम्भजस्तो विशाल घटना अर्को कुनै थिएन। यसले एउटा अद्भुत छवि प्रस्तुत गर्दछ। यसमा हिन्दु धर्मको बलियो र आपसी तालमेल प्रस्ट देखिन्छ। यो मेला राजनीतिक प्रचार र व्यापार आदिका लागि त उत्कृष्ट छ। आस्था नभएको भए यसको कुनै अर्थ रहने थिएन। यही आस्थाले करोडौँ श्रद्धालुलाई संगमतर्फ तान्दै ल्याउँछ।’
कुम्भ कहिल्यै नटुंगिने आस्थाको यात्रा हो। हामी यहाँ प्रत्येक चरणलाई नजिकबाट बुझ्नेछौँ। कुम्भसँग सम्बन्धित प्रत्येक क्षण र हरेक पक्षलाई गहिराइपूर्वक अध्ययन गर्नेछौँ। तर यसको सुरुवात त सुरुबाटै गर्नुपर्छ, अर्थात् त्यो पौराणिक कथा जसलाई कुम्भ आयोजनाको आधार मानिन्छ।
समुद्रमन्थनको पौराणिक कथा
भागवत पुराणका अनुसार देवता र राक्षसहरूले मिलेर समुद्रमन्थन गर्दा धेरै चिज प्राप्त भए। अन्त्यमा अमृतको कुम्भ (कलश) निस्कियो, जसलाई देवताहरूले चलाखीपूर्वक आफ्नो कब्जामा लिए। राक्षसहरूले भगवान् विष्णुको वाहन गरुड अमृतको कुम्भ लिएर भागेको चाल पाएपछि विवाद बढ्यो। भागदौड भयो। घडा तानातान भयो। यस क्रममा अमृतको घडाबाट चार थोपा पृथ्वीका चार स्थानमा खसे- प्रयागराज (इलाहाबाद), हरिद्वार, उज्जैन र नासिक। यी चारै स्थानमा कुम्भ मेला आयोजना गरिन्छ। यस्तो मेला प्रत्येक १२ वर्षमा सूर्य, चन्द्रमा र बृहस्पतिका विशेष ज्योतिषीय स्थितिहरूसँग मेलाएर मनाइन्छ।
प्रयागराजको विशेष महत्त्व त्यहाँका तीन पवित्र नदीहरूको संगमका कारण छ- गंगा, यमुना र पौराणिक सरस्वती। यसलाई त्रिवेणी संगम भनिन्छ। हिन्दु धार्मिक मान्यताअनुसार यो स्थान आध्यात्मिक शक्तिकेन्द्र हो। यस कथा र स्थानको आध्यात्मिक महत्त्वकै कारण कुम्भ मेलाले धार्मिकता, परम्परा र आस्थाको अनुपम संगमलाई उजागर गर्दछ।
कुम्भको ऐतिहासिक विकास
कुम्भ मेलाको जरा पौराणिक कथामा जोडिएको छ। यसबारे इतिहास बलियो छ। ऐतिहासिक सन्दर्भबाट थाहा हुन्छ- यो मेला समयक्रममा एउटा संगठित धार्मिक उत्सवका रूपमा स्थापित भएको हो। मेला अहिले संसारकै सबैभन्दा ठूलो धार्मिक मेलामध्येमा गनिन्छ।
मेलाको विकासले धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्त्वपूर्ण प्रभाव पारेको छ। भारतको इतिहासमा कुम्भ मेला आध्यात्मिकताको प्रतीक मात्र नभई सांस्कृतिक एकताको एउटा अनुपम उदाहरण पनि हो। यस पर्वको विकासले समयसँगै विभिन्न परम्परा, व्यवस्थापन शैली र धार्मिक मान्यतालाई समाहित गर्दै विशाल रूप लिएको छ।
प्राचीन काल
ऋग्वेद : सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा नदीहरूलाई जीवनदायिनी शक्तिका रूपमा वर्णन गरिएको छ। यसमा पवित्र नदीहरूमा स्नान गर्ने महत्त्वलाई विशेष रूपमा जोड दिइएको छ। ऋग्वेदका मन्त्रहरूले नदीहरूलाई भौतिक जलस्रोतका रूपमा मात्र नभई आध्यात्मिक शुद्धीकरण र पुनर्जागरणका प्रतीकका रूपमा मान्यता दिएका छन्। पवित्र नदीहरूमा स्नान गर्नाले पाप नाश हुने र आध्यात्मिक शुद्धता प्रदान गर्ने विश्वास छ। यसले कुम्भ मेलाको परम्परागत महत्त्वलाई अझ गहिरो बनाउँदै यसको प्रारम्भिक आधार तयार गरेको देखिन्छ।
महाभारत : महाभारतमा प्रयागराजलाई आध्यात्मिक स्नानका लागि सबैभन्दा पवित्र स्थलका रूपमा प्रस्तुत गरिएको छ। विशेष रूपमा भीष्म पितामहले राजा युधिष्ठिरलाई त्रिवेणी संगममा स्नान गर्नका लागि सल्लाह दिएका थिए। भीष्म पितामहका अनुसार त्रिवेणी संगममा स्नान गर्दा शारीरिक, मानसिक र आध्यात्मिक शुद्धता प्राप्त हुन्छ। यहाँ स्नान गरेर व्यक्ति आफ्नो पापमुक्ति र मोक्षको मार्गमा अग्रसर हुन्छ भन्ने विश्वास छ।
पौराणिक सन्दर्भ : मत्स्य पुराण र अग्नि पुराणमा प्रयागराजको संगमलाई ‘तीर्थराज’ (तीर्थहरूको राजा) का रूपमा वर्णन गरिएको छ। मत्स्य पुराण र अग्नि पुराणमा प्रयागराजका संगमलाई अत्यन्त पवित्र स्थानका रूपमा प्रतिष्ठित गरिएको छ, जसको महत्त्व अन्य तीर्थस्थलहरूभन्दा उच्च मानिएको छ।
मध्यकाल : कुम्भ परम्पराको स्थापना
आदि शंकराचार्यको योगदान (आठौँ शताब्दी) : प्रसिद्ध दार्शनिक आदि शंकराचार्यले धार्मिक आस्थाको प्रवर्धनका लागि विभिन्न साधु सम्प्रदायलाई समेट्दै, तीर्थयात्रा र संगम स्थलमा नियमित रूपमा भेला हुने परम्परा स्थापना गरे। उनले हिन्दु तीर्थयात्रा परम्परालाई औपचारिक रूपमा स्थापित गरेका हुन्। आदि शंकराचार्यको योगदानले कुम्भ मेलाको धार्मिक महत्त्वलाई अझ गहिरो र व्यवस्थित बनायो। यसपछि कुम्भ मेला धार्मिक उत्सव मात्र नभई धार्मिक संवाद र आध्यात्मिक ज्ञानको आदानप्रदानका लागि पनि महत्वपूर्ण मञ्च बन्न पुगेको हो।
चिनियाँ यात्री हुआन त्सांगको विवरण (सातौँ शताब्दी) : प्रसिद्ध चिनियाँ यात्री हुआन त्सांगले प्रयागराजमा एक भव्य आयोजना हुने गरेको उल्लेख गरेका छन्। उनका अनुसा त्यसमा हजारौं भक्तजन उपस्थित थिए। यद्यपि यसलाई स्पष्ट रूपमा ‘कुम्भ’ नामसँग जोडिएको छैन, तर यो सन्दर्भले यथासम्भव कुम्भ परम्पराको प्रारम्भिक चरणलाई सूचित गर्दछ।
आधुनिक काल
महाकुम्भ मेला भनेर हामी आज जसरी चिन्छौँ, त्यसले मुगल काल र पछि ब्रिटिस शासनका क्रममा आकार लिन थालेको हो। मुगल साम्राज्यका क्रममा कुम्भ मेला आयोजनामा राज्यको समन्वय र व्यवस्थापनको प्रक्रिया थप व्यवस्थित हुँदै गयो। धार्मिक यात्रा र मेला संस्कृतिको प्रोत्साहन दिइयो र शासकका तर्फबाट तीर्थयात्रा र धार्मिक आयोजनामा सक्रियता देखाइयो।
ब्रिटिस शासनको समयमा कुम्भ मेलामा व्यवस्थापन र संरचनात्मक विकासको नयाँ चरण सुरु भएको थियो। कुम्भ मेला प्रशासनका दृष्टिकोणबाट पनि व्यवस्थित बनाइयो। सरकारी निगरानी र व्यवस्थापनको भूमिका महत्त्वपूर्ण हुँदै गयो। यसरी कुम्भ मेला अत्यन्त भव्य धार्मिक उत्सवका रूपमा विकसित भयो। अहिले यसले धार्मिक आस्था, सांस्कृतिक, सामाजिक र पर्यटनका दृष्टिले ठूलो महत्त्व बोक्न सफल भएको छ।
अकबरको संरक्षण : सम्राट् अकबरले प्रयागराजको पवित्रतालाई मान्यता दिए। उनले र यस क्षेत्रको नाम इलाहाबाद (ईश्वरको निवास स्थान) राखेका हुन्। अकबरका इतिहासकार अबुल फजलले आफ्नो कृति ‘आइन-ए-अकबरी’ मा संगममा आयोजित वार्षिक मेला र स्नान समारोहको विस्तृत वर्णन गरेका छन्। प्रख्यात इतिहासकार डा. हेरम्ब चतुर्वेदीले आफ्नो पुस्तक ‘कुम्भ : ऐतिहासिक वाङ्मय’ मा लेखेका छन्, ‘अकबरले कुम्भको व्यवस्थापनका लागि दुई अधिकारी तैनाथ गरेका थिए।’ उक्त पुस्तकका अनुसार अकबरको बादशाहका समय सन् १५८९ को इलाहाबाद कुम्भमा निकै आम्दानी भएको थियो।
यसले कुम्भ मेला धार्मिक उत्सवका रूपमा मात्र नभई एक महत्त्वपूर्ण आर्थिक र सांस्कृतिक क्रियाकलापका रूपमा स्थापित भएको देखाउँछ।
पहिलो संगठित कुम्भ (१८५८) : ब्रिटिस प्रशासनले सन् १८५८ मा कुम्भमेला आयोजना गरेको थियो। आधिकारिक दस्ताबेजमा भएको हो पहिलो कुम्भ मेला हो। भक्तजनको विशाल भीड देखेर ब्रिटिस अधिकारीहरूले स्नान घाटको स्वच्छता, सुविधाजस्ता आधारभूत संरचनामा सुधारको थालनी गरेका थिए। प्रशासनिक दृष्टिकोणबाट कुम्भ मेलालाई धेरै व्यवस्थित र संरचित बनाउन थालियो। पर्वलाई अझ प्रभावकारी ढंगले मनाउनका लागि नयाँ उपायहरूको सुरु भएको थियो।
यसले कुम्भ मेलालाई एक तीर्थस्थलको रूपमा मात्र होइन, एक उत्कृष्ट व्यवस्थित धार्मिक उत्सवका रूपमा पनि प्रतिष्ठित बनायो। महाकुम्भ मेला सदीयौँदेखि विकसित भएको हो। हरेक कुम्भको आयोजनाले समकालीन सामाजिक, राजनीतिक र सांस्कृतिक परिवेशलाई दर्शाउँछ।
रेलवेको आगमन (१९औँ शताब्दी) : ब्रिटिस कालमा रेलवे प्रणालीको विकास भयो। प्रयागराजमा भक्तहरूको यात्रा गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्यायो। ‘कुम्भ स्पेसल’ ट्रेनहरूका माध्यमबाट लाखौँ तीर्थयात्रीहरूको यात्रा सहज हुन थाल्यो।
भारत स्वतन्त्रतापछि कुम्भ : सन् १९४७ मा भारत स्वतन्त्र भएपछि महाकुम्भ आयोजनाको जिम्मेवारी भारत सरकारले लियो। आधारभूत संरचनामा सुधार, सुरक्षा व्यवस्थापन र समन्वय सुनिश्चित गर्नमा मद्दत पुर्याएको थियो। सन् १९५४ को कुम्भ मेला विशेष रूपमा याद गरिन्छ। किनभने बजेट छुट्ट्याइएको यो पहिलो मेला थियो। मेलाको बजेट लगभग १ करोड १० लाख भारतीय रुपैयाँ थियो। यहीँबाट विशाल मेला आयोजना व्यवस्थापनमा नयाँ युग थालनी गरेको थियो। कुम्भ मेला थप व्यवस्थित हुन थाल्यो। तीर्थयात्रीहरूको संख्या, सुरक्षा, यातायात व्यवस्थापन र अन्य सुविधामा सुधार देखियो।
महाकुम्भ इतिहासका प्रमुख घटना
महाकुम्भ मेला एक विशाल धार्मिक उत्सव हो। यसको भव्यतामा कहिलेकाहीँ दु:खद घटना पनि जोडिन्छ। यहाँ केही महत्त्वपूर्ण घटना उल्लेख गरिएको छ :
भारत स्वतन्त्रतापछि सन् १९५४ मा भएको पहिलो कुम्भ मेलामा भागदौड हुँदा आठ सयभन्दा बढी भक्तजनको मृत्यु भएको थियो। यस त्रासदीले भीड व्यवस्थापन थप संवेदनशील बनायो।
सन् १९८९: कुम्भ मेला इतिहासकै एक विशाल आयोजना मानिन्छ। जसमा ३ करोडभन्दा बढी तीर्थयात्री सहभागी भए। यद्यपि भीड व्यवस्थापनमा केही समस्या भए तापनि यो आयोजना एक सफल उदाहरण बन्यो। यसले भारतका ठूलो धार्मिक मेलाहरू आयोजना गर्ने क्षमताको प्रदर्शन गरेको मानिन्छ।
सन् २०१३ को कुम्भ मेलामा १२ करोडभन्दा बढी व्यक्ति सहभागी भएको अनुमान छ। प्रयागराज रेलवे स्टेसनमा भएको भागदौडमा ३६ जनाको मृत्यु भएको थियो। सन् २०१९ को कुम्भ मेलालाई मानव इतिहासको सबैभन्दा ठूलो र शान्तिपूर्ण मेलाका रूपमा लिइन्छ। मेलमा २४ करोड मानिस सहभागी भएको अनुमान छ।
धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट महाकुम्भ मेलाका धेरै आकर्षण छन्। विभिन्न अखाडाका साधु, जसमा नागा (नांगा साधु) र अन्य धार्मिक पुरुषहरूले मेलामा भाग लिन्छन्। उनीहरूले विशेष अनुष्ठान गर्दछन्। यी साधुहरूले गर्ने शाही स्नान मेलाको प्रमुख आकर्षण मानिन्छ। कुम्भ मेलाका क्रममा संगममा स्नान गर्दा आत्मा शुद्ध हुन्छ, पाप समाप्त हुन्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ।
कुम्भ मेलाले अन्तर्राष्ट्रिय रूपमा पनि ध्यान आकर्षित गरेको छ। यसमा विश्वभरका आध्यात्मिक साधकहरू भाग लिन्छन्। युनेस्कोले २०१७ मा कुम्भ मेलालाई मानवताको अमूर्त सांस्कृतिक धरोहरको रूपमा सूचीकृत गरेको छ। यसपछि मेलाको सांस्कृतिक र आध्यात्मिक महत्त्व अझ बढाएको छ।
वर्षौँको अभ्यासपछि भारत सरकारले महाकुम्भको आयोजनालाई प्रभावकारी ढंगले सञ्चालन गर्न महत्त्वपूर्ण कदमहरू उठाएको छ। यस क्रममा आधारभूत संरचनाको विकास विकास गरिएको छ। अस्थायी टेन्टहरू, अस्पतालहरू, शौचालय र अस्थायी पुलहरूको निर्माण गरिएको छ। स्वच्छता अभियान र प्लास्टिकमुक्त क्षेत्रहरूका माध्यमबाट पारिस्थितिकीय असरलाई कम गर्ने प्रयास गरिएको छ। सुरक्षा र भीड व्यवस्थापनका लागि सीसीटीभी क्यामेरा, ड्रोन र एआई-आधारित निगरानी प्रणालीको प्रयोग गरिएको छ।
उत्तर प्रदेशको प्रयागराजमा पुस मसान्तमा सुरु हुने महाकुम्भ मेलाको तयारी पूरा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। महाकुम्भ आयोजनाका लागि योगी आदित्यनाथ सरकार सक्रिय रहेको बताइएको छ।
महाकुम्भका लागि भनेर भारतीय रेलवेले विशेष ट्रेन सेवा चलाउने तयारी गरेको छ। देशका प्रमुख १० सहर अमृतसर, नयाँदिल्ली, जयपुर, लखनउ, भोपाल, इन्दौर, मुम्बई, अहमदाबाद, बैंगलोर र कोलकाताबाट प्रयागराजका लागि विशेष रेल चलाइनेछन्। यूपी रोडवेजले महाकुम्भका लागि विशेष बस सेवाहरूको व्यवस्था गरेको छ। लखनउ, आगरा, गोरखपुर, अयोध्या, वाराणसी, रायपुर, राँची, पटना, दिल्ली, मुम्बई, जयपुर, अहमदाबाद, इन्दौर, भोपाल र चण्डीगढबाट बस सेवा उपलब्ध हुनेछन्।
प्रयागराजमा श्रद्धालुहरूको बसोबासका लागि विशेष व्यवस्था गरिएको छ। संगमको नजिक २५ हजार टेन्ट लगाइएका छन्। यसको दैनिक भाडा भारतीय रुपैयाँ २ हजार रुपैयाँदेखि २० हजारसम्म तोकिएको छ। प्रयागराजका १५० भन्दा बढी होटेलमा बसोबासको व्यवस्था गरिएको छ। त्यसैगरी विभिन्न धर्मशालामा पनि बसोबासको व्यवस्था मिलाइएको छ।
द लल्लनटप र भारतीय सञ्चारमाध्यमको सहयोगमा