काठमाडौँ- चिसो बढेपछि जनकपुरधाम उपमहानगरपालिकाका विद्यालयहरू बन्द भएका छन्। उपमहानगरपालिका कार्यालयले चिसो बढेपछि शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो।
शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले पुस १९ देखि २९ गतेसम्म जाडो बिदा दिने निर्णय भएको जानकारी दिए। वर्षे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिइएको उनले बताए।
कर्णले अत्याधिक जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी उपमहानगरपालिका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय भएको जानकारी दिए।
तराई–मधेशमा केही दिनयता शीतलहर सुरू भएपछि जनजीवन प्रभावित भएको छ।
प्रकाशित: १८ पुष २०८१ १०:३१
प्रतिक्रिया