चितवनमा पर्यटकको चाप, होटल भरिभराउ

हिमाल प्रेस १६ पुष २०७९ ११:११
10
SHARES
चितवनमा पर्यटकको चाप, होटल भरिभराउ फाइल तस्बिर।

चितवन- इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन्।

साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन्। अंग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ। नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन्।

सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दुई दिनयता हात्ती र जिप भरिएको जानकारी दिए। साँझसम्ममा सबै होटल भरिने उनको अनुमान रहेको छ। उनले भने, ‘यो नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ।’

सौराहामा दुई वटा होटल सञ्चालन गर्दै आएका माधव दुवाडी दुई दिनयता दुवै होटल भरिएको बताउँछन्। होटल सेभेन स्टारमा आज सांगितिक कार्यक्रम रहेको भन्दै उनले अर्को होटेल पनि भरिएको बताए। उनले भने, ‘ नयाँ वर्षमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहेको छ।’

क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया अधिकांश होटल भरिएको बताउँछन्। उनले भने, ‘नयाँ वर्ष मनाउन आउने पर्यटकको संख्या राम्रो छ।’ विगत वर्षमा जस्तो सडकमा पर्यटक नभरिए पनि होटलमा राम्रो भएको उनको भनाइ छ।

पटिहानी र मेघौलीका होटल पनि पर्यटकले भरिएका छन्। मेघौलीको वाइल्ड लाइफ सेञ्चुरीका सुबोध प्रधानले दुई दिनयता होटल भरिएको सुनाए। उनले भने, ‘अहिलेको नयाँ वर्ष पर्यटकको उपस्थिति राम्रो छ।’ जंगल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलले दुई दिनयता भारतीय र नेपाली पर्यटकले होटल भरिएको जानकारी दिए।

क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले क्रमश पर्यटक बढ्दै गएको साँझसम्ममा होटल भरिने अपेक्षा रहेको बताए। सौराहाका सबै होटललाई समग्रमा हेर्दा शुक्रबार झण्डै आधा भरिएको उनको भनाइ छ। घुम्न आउनेले पाएसम्म राम्रा होटल खोज्छन्। संघको सदस्यमा साना होटल धेरै छन्। क्रमशः ती होटल पनि भरिने क्रममा रहेका छन्।

पर्यटक बढेपछि निकुञ्ज आसपासका रेष्टुराँ पनि भरिएका छन्। सौराहामा एक सय २० होटल क्षेत्रीय होटल संघमा आबद्ध छन्। संघमा दर्ता नभएका अरू साना होटल पनि रहेका छन्। भट्टराईका अनुसार सौराहामा आठ हजार पर्यटक अट्न सक्ने क्षमता छ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा हात्ती सफारी, जीप सफारी, डुंगा सयर, पैदल यात्रा गरेर दुर्लभ बाघ, गैँडाजस्ता वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन्। थारू संस्कृति हेर्न पर्यटक रुचाउँछन्। कोभिडका कारण थला परेको पर्यटन व्यवसाय उठ्ने अपेक्षामा व्यवसायी रहेका छन्।

प्रकाशित: १६ पुष २०७९ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast