च्याउखेती : उत्पादन र माग बढे पनि बजार सीमित

हिमाल प्रेस १५ पुष २०८१ १७:१९ | Monday, December 30, 2024
च्याउखेती : उत्पादन र माग बढे पनि बजार सीमित

काठमाडौँ- च्याउ किसानले बजार र कोल्डस्टोर नहुँदा आफ्ना उत्पादन कुहिएर नष्ट हुँदै आएको गुनासो गरेका छन्। ‘राष्ट्रिय च्याउ दिवस’ का अवसरमा काठमाडौँको भृकुटीमण्डपमा आयोजित च्याउ मेलामा सहभागी किसानले च्याउलाई व्यवस्थित गर्न नसकिएको बताएका हुन्।

मेला कृषि तथा पशुपन्छी विकास मन्त्रालय र च्याउ उत्पादक किसान संघले आयोजना गरेको हो। मेलामा भेटिएका ट्रिनिटी एग्रोका बजार प्रमुख नकुल उप्रेतीले उत्पादन भएको च्याउका लागि व्यवस्थित बजार र कोल्डस्टोर नहुँदा धेरै च्याउ कुहिएर नोक्सानी भइरहेको बताए। ‘च्याउको बजार राम्रो छ। यसलाई व्यवस्थित गर्न सकिएन। जसका कारण सीमित ठाँउमा मात्र व्यापार भइरहेको छ’, उनले भने।

सरकारले च्याउखेतीका लागि आवश्यक योजना र बजारीकरणका लागि विशेष काम गर्नुपर्ने आग्रह उनको छ। उप्रेतीले वार्षिक ३५ लाख रुपैयाँभन्दा बढीको च्याउ उत्पादन गर्दै गएको बताए।

इन्द्रेणी मसरुप फार्मका सञ्चालक सुमन श्रेष्ठले वार्षिक ४५ लाख रुपैयाँभन्दा बढीको च्याउ उत्पादन गर्दै आएका छन्। उनको फार्ममा उत्पादन भएको च्याउ उपत्यकाभित्र मात्र व्यापार हुन्छ। श्रेष्ठ च्याउखेतीमा लागेको १४ वर्ष भयो। उत्पादन र माग बढे पनि बजार सीमित रहेको श्रेष्ठको गुनासो छ। च्याउ किसान सरकारको योजना र नजरमा नपर्ने गरेको उनले बताए। ‘सरकारले एकातिर च्याउका लागि आवश्यक सामग्रीमा चर्को भन्सार लगाउँछ भने अर्कोतिर च्याउ किसानलाई किसान जस्तै मान्दैन’, उनले भने।

विदेशी बजारमा नेपाली च्याउको माग भए पनि निर्यातका लागि सरकारले सहजीकरण नगरेको उनको आरोप छ। मेलामा भेटिएका अधिकांश किसानले च्याउ खेतीमा भविष्य रहेको बताए। सीता कृषि फार्मका विद्या कापड नेपालको हावापानी सुहाउँदो च्याउ खेतीका लागि प्रविधिक समस्या भइरहेको बताउँछन्। पुरानै विधिबाट च्याउखेती गर्दा कहिलेकाहीँ ठुलो नोक्सानी हुने गरेको उनले बताए।

‘सरकारले कृषि अनुदानमा गरेको खर्च च्याउखेती गर्ने किसानलाई प्राविधिक तालिममा खर्चिए हुन्थ्यो। यति गर्दा किसानले आधुनिक तरिकाले च्याउखेती गर्थे र उत्पादन पनि बढ्थ्यो’, उनले भने। किसानले ज्यान दिएर च्याउखेती गरे पनि आधुनिक प्रविधि नहुँदा सामान्य कमाइमै रमाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। च्याउसम्बन्धी ४२ स्टल राखिएको उक्त मेलामा २४ हजारभन्दा बढी अवलोकन गरेको संघले जनाएको छ। मेलामा च्याउका ३० प्रकारभन्दा बढी खानेकुरा समेत राखिएको थियो।

राष्ट्रिय च्याउ दिवस : स्वदेशी च्याउलाई छैन बजार

प्रकाशित: १५ पुष २०८१ १७:१९ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast