वृत्तचित्र हुँदै फिल्म निर्देशनमा दीपेन्द्र गौचन

हिमाल प्रेस १५ पुष २०८१ १३:०९
10
SHARES
वृत्तचित्र हुँदै फिल्म निर्देशनमा दीपेन्द्र गौचन

काठमाडौँ- वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’लगायतबाट परिचित बनेका निर्देशक दीपेन्द्र गौचनले फिल्म ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन्।

करिब ३२ वर्षपछि फिल्मकर्ममा फर्किएका निर्देशक गौचनले पहाडी समुदायको केटी र मधेशी समुदायको केटाको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएका छन्।

निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबीच यात्रामा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई फिल्ममा समेटिएको बताए। ‘म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ। किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन्। जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोशिस गरेको छु’, उनले भने।

‘मिसिङः केटी हराएको सूचना’ विपरीत जीवन बाँच्ने युवायुवतीको कथा भएकाले फिल्मका अधिकांश दृश्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठमै केन्द्रित रहेको उनले बताए। ‘फिल्ममा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यही भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ। यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने चलन बढिरहेको छ। फिल्मले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ’, निर्देशक गौचनले भने।

फिल्ममा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा छन्। निर्देशक गौचनकाअनुसार दुई पात्रमार्फत नेपालका दुई भिन्न समुदायबीचको सामाजिक दूरी र सांस्कृतिक भिन्नतालाई चित्रणसँगै समझदारी तथा आपसी प्रेमको भावनालाई प्रस्तुत गरिएको छ।

उनले भने, ‘यो फिल्ममा परम्परागत प्रेम कथा होइन। हामीले यसमा प्रेम कसरी अप्रत्याशित ठाउँ र परिस्थितिमा पनि भेटिन सकिन्छ भन्ने देखाएका छौँ।’ अभिनेता हुसेनले यसपटक आफूले शून्यतामा रहेर अभिनय गरेको बताए। अभिनेत्री श्रेष्ठले फिल्ममा गरिएको काम आफ्नो लागि अहिलेसम्मकै उत्कृष्ट रहेको बताए।

‘मेरो पात्र निर्माणसँगै छायांकन पाएको स्पष्टता र सरलता अहिलेसम्मकै उत्कृष्ट अनुभव रह्यो। यो हामीले नजरअन्दाज गरिरहेको एउटा विषय हो’, उनले भने।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारकाे अभिनय छ। फिल्म आगामी माघ ११ मा प्रदर्शन हुनेछ। रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast