१२९ यात्रुसहित पोखरामा चीनको सिचुआन एयर अवतरण

हिमाल प्रेस ११ पुष २०८१ १०:२८
10
SHARES
१२९ यात्रुसहित पोखरामा चीनको सिचुआन एयर अवतरण

पोखरा- पर्यटनको राजधानी पोखरामा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस-२०२४ का लागि १२९ यात्रुसहित सिचुआन एयर अवतरण भएको छ। बिहीबार बिहान १० बजेर १३ मिनेटमा पोखरा विमानस्थलमा सिचुआन एयर अवतरण भएको हो। जसमा भीआईपी, अफिसियल र खेलाडी छन्।

चीनको छेन्दुक विमानस्थलबाट उडेको विमान पोखरा आउन ३ घण्टा १३ मिनेट लागेको विमानस्थल अधिकारिले जनाएका छन्।जहाज अवतरण भएपछि पोखरेलीले जहाजसँगै पाहुनाको भव्य स्वागत गरेका छन्। यसैबीच, उक्त जहाजले बिहीबार नै काठमाडौंसम्म पोखराको पर्यटन प्रवर्द्धनात्मक उडान भर्नेछ। जसमा पर्यटन व्यवसायी, पत्रकार लगायतले काठमाडौंसम्म यात्रा गर्नेछन्।

यही १४ र १५ पुसमा हुने ड्रागन बोट रेस प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने छन्। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा ड्रागन वोट रेस हुन लागेको हो।

२०० र ५०० मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दूरीका प्रथम विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले एक हजार दुई सय डलर पुरस्कार प्राप्त गर्नेछन्। बाँकी १७ समूहलाई प्रतिसमूह पाँच सय डलर प्रदान गरिने आयोजकले जनाएको छ।

ड्रागन वोटको दोस्रो संस्करण पनि फेवाताल हुनेछ। चीन सरकारको अगुवाइमा नेपालमा पहिलोपटक सन् २०२३ मा उक्त प्रतियोगिता आयोजना गरिएको थियो। चीनले यसखालका प्रतियोगिता विश्वका ५० देशमा आयोजना गर्दै आएको छ।

२ वर्ष अघिदेखि सन्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने चार्टर्ड उडानमै सीमित छ। यहाँबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। नियमित अन्तर्राष्ट्रिय उडान भर्न पोखरेलीले विभिन्न माध्यमबाट दबाब सिर्जना गरिरहेका छन्।

प्रकाशित: ११ पुष २०८१ १०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast