पोखरामा बाहिरियो अर्को सहकारी घोटाला काण्ड, दुई जना पक्राउ

हिमाल प्रेस ८ पुष २०८१ २०:०४
90
SHARES
पोखरामा बाहिरियो अर्को सहकारी घोटाला काण्ड, दुई जना पक्राउ

पोखरा- पोखरामा अर्को एक सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पोखरा-२३, कार्कीको तगरास्थित संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना एवं ठगी गरेको अभियोगमा अनुसन्धानका लागि उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा उक्त संस्थाका अध्यक्ष धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई हाल पोखरा-८, नयाँबजार बस्ने ३३ वर्षीय विक्रम पाण्डे र संस्थाका सचिव तथा व्यवस्थापक पोखरा-३१, बेगनासका ३४ वर्षीय कमल सुवेदी हुन्। सुवेदी पत्रकार समेत हुन्।

उनीहरूमध्ये पाण्डेलाई पोखरा-१६, बिरौटाबाट र सुवेदीलाई पोखरा-२३, कार्कीको तगरास्थित सहकारी कार्यालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरूलाई सहकारी ठगी सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा सोमबार म्याद थपका लागि लगिएकामा अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ।

संस्थाका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी देखिएको भन्दै सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिनु भनी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा गत ७ पुसमा पत्राचार गरेका थिए। सोबमोजिम कास्की प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा लिएको सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले बताए।

यसैबीच कास्की प्रहरीले उक्त सहकारीका बचतकर्तालाई यही २० पुससम्म जाहेरी दरखास्त दिन अनुरोध गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको छ। सूचनामा सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाएका पीडित व्यक्तिहरूले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त दिन आग्रह गरिएको हो।

उक्त सहकारीको दुई करोड ९६ लाख रुपैयाँ रकम अपचलन भएको प्रारम्भिक छानबिन प्रतिवेदनले औंल्याएको छ। सहकारी रजिष्ट्रार कार्यालयले दिएको उक्त प्रतिवेदन आधारमा कास्की प्रहरीले अनुसन्धान सुरु गरेको हो।

प्रकाशित: ८ पुष २०८१ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast