नेपाल भित्रन्छ दैनिक ४ अर्ब रेमिट्यान्स

हिमाल प्रेस ५ पुष २०८१ ११:५५ | Friday, December 20, 2024
नेपाल भित्रन्छ दैनिक ४ अर्ब रेमिट्यान्स

काठमाडौँ- नेपालमा दैनिक ४ अर्ब रेमिट्यान्स भित्रने गरेको छ। वैदेशिक रोजगार विभागले दैनिक दुई हजार २ सय कामदार बिदेसिदा ४ अर्ब रेमिट्यान्स भित्रने गरेको जनाएको हो। गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो। गतवर्ष सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको थियो।

वैधानिक प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या वार्षिक साढे ७ लाखमाथि पुग्न थालेको विभागको तथ्यांकमा छ। चालु आर्थिक वर्षको मंसिर मसान्तभित्र २ लाख ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको विभागको भनाइ छ।

चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको तुलना यस अवधिमा ९.१ प्रतिशतको वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा छ। गत वर्षको पहिलो चौमासमा रेमिट्यान्स आप्रवाह २२.५ प्रतिशतले बढेको थियो।

आर्थिक वर्ष २०८०/०८१ मा ७ लाख ४१ हजार २९७ नेपाली युवा वैदेशिक रोजगारीमा १ सय ४३ देश पुगेका छन्। जसमध्ये ८० हजार १७२ महिला कामदार ९७ देशमा छन्। नेपाली कामदार ठूलो संख्या मलेसिया, साउदी, यूएई र कतारजस्ता देश गइरहेका छन्।

अहिले यिनै देशबाट ७० प्रतिशतभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले जानकारी दिए। ‘दैनिक ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिए पनि यसको सदुपयोग नभएको देखिन्छ। योभन्दा बढी पनि रेमिट्यान्स भित्राउन सकिन्छ। हुण्डी कारोबार रोक्न सके रेमिट्यान्स दैनिक ६ देखि ७ अर्ब भित्रिन सक्छ,’ उनले भने।

हाल वैदेशिक रोजगारीमा कार्यरत ४० प्रतिशतभन्दा बढी कामदारले हुण्डीमार्फत नेपाल पैसा पठाउने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकै आप्रवासनसम्बन्धी अध्ययनमा भनिएको छ।

प्रकाशित: ५ पुष २०८१ ११:५५ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast