क्यालिब्रेसन उडानका लागि पोखरा आयो जहाज

विजय नेपाल ३ मंसिर २०७९ १२:५४ | Saturday, November 19, 2022
क्यालिब्रेसन उडानका लागि पोखरा आयो जहाज

पोखरा– अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिनदेखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि जहाज शनिबार पोखरा आएको छ।

निर्माण अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय विमानस्थलको थाइल्यान्डको एरो थाई कम्पनीको उक्त जहाजबाट यही मंसिर ५ गतेदेखि यान्त्रिक परीक्षण हुनेछ। नेपालगञ्जबाट उडेको जहाज शनिबार यहाँ आइपुगेको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए।

क्यालिब्रेसन फ्लाइटका लागि आएको जहाजले विमानस्थलमा जडित सबैखाले उपकरणको परीक्षण गर्ने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर ५ देखि ११ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो।

क्यालिब्रेसन फ्लाइटका कारण चालु रहेको यहाँको विमानस्थलमा केही उडान प्रभावित हुने छन्। त्यसको लागि नोटाम जारी गरिएको छ। क्यालिब्रेसन फ्लाईट लागि नोटाम जारी भएको अवस्थामा अरू नियमित उडान हुन सक्दैनन्।

क्यालिब्रेसन परीक्षण हुने भएपछि बिहान १० बजेभन्दा अघि र दिउँसो १ देखि साढे २ सम्म मात्र चालु विमानस्थलबाट उडान हुने छन्। अरू बेला उडान प्रभावित हुने जनाइएको छ। पोखरा विमानस्थलबाट हाल काठमाडौँ, जोमसोम, भरतपुर, भैरहवा, धनगढी र नेपालगञ्जका लागि नियमित उडान हुँदै आएको छ।

क्यालिब्रेसन उडानको प्रतिवेदन कम्पनीले बुझाएपछि मात्र नयाँ विमानस्थलमा परीक्षण उडान हुने गर्दछ। र, परीक्षण उडान समेत सफल भएपछि व्यावसायिक उडान सुरु हुने छन्।

नेपालका करिब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो। सन् २०२१ जुलाई १० सम्म निर्धारित समय तोकिएकोमा ६ महिनाअघि नै संचालन हुने गरी तीव्र भए पनि कोरोनाले निर्माण प्रभावित बनेको थियो। चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङले सन् २०१७ नोभेम्बरदेखि काम थालेको थियो।

विमानस्थलको रन वे २ हजार ५ सय मिटरको छ।  नेपालले चिनियाँ सरकारसँग २२ अर्ब रूपैयाँ ऋण लिएर निर्माण थालिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प रूपमा हेरिएको छ। आइकाओ मापदण्डअनुसार फोरडी मोडलमा पर्ने यो विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्ने छन्।

प्रकाशित: ३ मंसिर २०७९ १२:५४ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast