जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्। नयाँ जनप्रतिनिधि आएको करिब ३ वर्ष हुन लाग्दा पनि उपमहानगरपालिकाको अवस्था लथालिंग रहेको तथा अहिलेसम्म कार्यपालिका बैठक समेत बस्न नसकेको बताउँदै वडाध्यक्षहरूले नगर प्रमुखविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
वडाध्यक्षहरूले मंगलबार नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र पनि बुझाएका छन्। नगरप्रमुख साहका कारण जनताले पाउने आधारभूत सेवाहरू सरसफाइ, स्वास्थ्य, शिक्षालगायत राज्यद्वारा दिइने सेवासुविधाबाट वञ्चित हुनुपरेको वडा नम्बर-८ का अध्यक्ष दिनेशकुमार सिंहले बताए। ‘विधिको शासन हुनुपर्छ व्यक्तिको होइन। तर जनकपुरधाम उपमहानगरपालिकामा व्यक्तिको शासन छ, विधिको होइन,’ उनले भने।
हरेक महिना कार्यपालिकाको बैठक बस्नुपर्ने भए पनि बस्न नसकेको उनले बताए। कार्यपालिकाको बैठक बोलाउन वडाध्यक्षहरूले १५ दिनको अल्टिमेटम दिएका छन्। नत्र आन्दोलन गर्न बाध्य हुने वडा नम्बर-२४ का कार्यवहक अध्यक्ष शेषनाथ मण्डलले जानकारी दिए।
ज्ञापनपत्र बुझाउन वडा नम्बर–२० का अध्यक्ष मोती राइन, ५ का वडाध्यक्ष बेचन साह हलुवाई, कार्यपालिका सदस्य सन्तोषकुमार महतो, दीपेन्द्र कुमार साहलगायत उपमहानगरको कार्यालय पुगेका थिए।