सभापति लड्ने तयारीमा शेखर, अन्योलमा गगन

सन्तोष अधिकारी ३० मंसिर २०८१ १८:५६
2.1k
SHARES
सभापति लड्ने तयारीमा शेखर, अन्योलमा गगन

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा र उनको टिमको विगत हेर्दा पार्टीको १५औँ अधिवेशन समयमै हुन्छ भन्ने टुंगो छैन। नेताहरू भने महाधिवेशनको तयारीमा जुटिसकेका छन्। कांग्रेसका नेताहरू गुट फेरबदलमा लाग्नु र भाबी नेतृत्वका लागि सक्रिय रहनुले यही संकेत गर्दछ।

पार्टीको १४औँ महाधिवेशनमा देउवासँग सभापति पदमा पराजित डा. शेखर कोइरालाले सार्वजनिक रूपमै सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। कोइराला जिल्ला-जिल्ला पुगेर सभापतिको उम्मेदवार हुने सन्देश सुनाइरहँदा १४औँ महाधिवेशनमा आफ्नै प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर निर्वाचित बनेका गगनकुमार थापा भने गुट परिवर्तनको कसरतमा छन्।

जानकारहरूका अनुसार थापा पार्टीमा बलियो रहेका सभापति देउवाको गुटमा घुस्न खोज्दै छन्। पार्टी सभापति देउवाको कार्यशैलीप्रति निकै आलोचना गर्ने थापा अहिले सुनसानजस्तै छन्। थापाले १४औँ महाधिवेशनअघि पाका पुस्ताका देउवाबाट पार्टी नचल्ने निष्कर्ष सुनाउँदै पुस्तान्तरणको बहस छेडेका थिए भने प्रधानमन्त्री बने देश चलाउन झन् नसक्ने भन्दै पार्टी संसदीय दलको नेताबाट पाखा लगाउने प्रयास गरेका थिए। पछिल्लो समय थापाले देउवालाई भाबी प्रधानमन्त्री भन्न भ्याइसकेका छन्।

देउवा आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने छैनन्। उनको साथ पाउने व्यक्ति निर्णायक हुने बुझाइ थापाको छ। सोही कारण थापा सभापति लड्ने आन्तरिक तयारी गरिरहेको उनी निकट नेताहरू बताउँछन्। त्यसो त देउवा समूहले आफ्नो गुटमा  थापालाई सजिलै स्वीकार्छन् भन्ने छैन।

उता कोइराला भने पार्टी नेतृत्वको कार्यशैली र सरकारमा सहभागी कांग्रेसको भूमिकालाई लिएर असन्तुष्ट छन्। उनले सार्वजनिक कार्यक्रममा पनि देउवा र सरकारको आलोचना गर्न छाडेका छैनन्।  कोइराला थापाको पछिल्लो मौनता र सक्रियताप्रति असन्तुष्ट रहेको उनी निकट नेताहरू बताउँछन्। कोशी प्रदेशमा आफूनिकटका स्थानीय तहका सभापतिहरूको भेला गरेर कोइरालाले देउवा-थापालाई एकखाले दबाब पनि दिइसकेका छन्। केही समयअघिसम्म कांग्रेसमा रहेको शेखर-गगन गुट अब अस्तित्वविहीनजस्तै बनेको छ।

सहकारी प्रकरणले महामन्त्री थापा र सभापति देउवाबीच सम्बन्ध बाक्लिएको नेताहरू बताउँछन्। आफूसँगको सहकार्य तोडेर माओवादीले एमाले-रास्वपासहितको सरकार बनाएपछि सहकारीको मुद्दालाई कांग्रेसले जोडतोडसँग उठायो। कांग्रेसमा यसको अगुवाइ महामन्त्री थापाले गरेका थिए। संसदीय विशेष छानबिन समितिले रास्वपा सभापति रवि लामिछानेको संलग्नता रहेको निष्कर्षसहित आवश्यक कारबाहीका लागि सिफारिस गरेपछि देउवाले थापाको प्रशंसा गरेका थिए। सोही घटनाक्रमपछि देउवा र थापाबीच सम्बन्ध सुमधुर हुन थालेको कांग्रेस नेताहरू बताउँछन्।

देउवाले महामन्त्री थापासँग सरकारमा पठाउने मन्त्रीका बारेमा महत्त्वका साथ छलफल गरेका थिए। सरकारले राजदूत सिफारिस गर्दा देउवाले छनोट गरेर पठाएका व्यक्तिमा थापा निकटका नेताहरू मौन रहनुले पनि उनीहरूबीचको निकटता झल्काउँछ। सभापति देउवा र महामन्त्री थापाबीचको यो निकटतालाई लिएर विभिन्न कोणबाट विश्लेषण हुने गरेका छन्।

कोइरालानिकट नेता डा.गोविन्द पोखरेल पार्टीमा सभापति-महामन्त्री एक ठाउँमा भएको स्पष्ट देखिएको बताउँछन्। ‘सभापति र महामन्त्री पार्टीमा एक ठाउँमा हुनु राम्रै हो। माइन्युट उठाउने, एजेन्डा प्रस्तुत गर्ने र अनुमोदनका लागि नेतृत्व लिने व्यक्ति एक ठाउँ हुनु नौलो कुरा होइन,’ उनले भने, ‘भोलि पार्टीको महाधिवेशनमा शेखर-गगन एक ठाउँमा हुनुहुन्छ भन्ने विश्वास छ। यसो हुँदा पार्टीमा भएका दुवै पुस्ता एकै ठाउँमा भएको सन्देश पनि जान्छ। पार्टी र राजनीति दुवैले जित्छ।’

तोकिएकै मितिमा कांग्रेसको १५औँ महाधिवेशन भए २०८२ मंसिरमा हुनुपर्ने हो। लगातार दुई कार्यकाल नेतृत्वमा रहिसकेका देउवाले विधानतः अब फेरि सभापतिका लागि प्रतिस्पर्धा गर्न पाउँदैनन्। सोही कारण पार्टीको नेतृत्व कोइराला परिवारमा जान नहुने देउवाको चाहना र त्यसैको लाभ लिँदै नेतृत्व हत्याउने महामन्त्री थापाको दाउले उनीहरू नजिकिएको विश्लेषण गर्नेहरू पनि छन्।

‘कांग्रेसमा १५औँ महाधिवेशनमा अहिले भएको गुटहरू भताभुंग हुने देखिन्छ,’ राजनीतिक विश्लेषक कृष्ण खनाल भन्छन्, ‘त्यसो हुँदा अहिले गगन देउवासँग नजिक हुन खोज्नु र शेखरले देउवाको गुटमा भएका नेताहरूलाई आफ्नो गुटमा ल्याउन प्रयास गर्नुलाई नौलो रूपमा लिनु भएन।’ उनले देउवाले आफ्नै गुटको नेतृत्व गर्ने गरी गगनलाई स्वीकारिसकेको भन्ने अवस्था नभएको पनि बताए।

खनालले थपे, ‘पार्टीको निर्णय तहमा गगनले पहिलेभन्दा केही बढी स्पेस पाएको चाहिँ देखिन्छ तर देउवाले गगनलाई सबै सुम्पिसके जसरी भन्नुचाहिँ गलत हो। भोलि गगन-शेखर एकै ठाउँमा उभिएर देउवा गुटका मान्छे तान्न पनि त सक्छन्।’

शेखरनिकट एक नेता शेखर-गगनलाई फुटाएर पार्टीमा च्याँखे थाप्ने गुट सक्रिय भएको बताउँछन्। ‘कांग्रेसमा विगतदेखि सानो झुन्डको गुट चलाउनेहरूले दुई ठूला गुटमा खेलेर नेताहरूलाई फुटाउने चलन जस्तै छ,’ ती नेताले भने, ‘अहिले पनि त्यही भएको हो। १५औँ महाधिवशेनमा शेखरलाई अघिल्लो पुस्ताका रुपमा अघि सारेर त्यसपछिको महाधिवेशनमा आफू नेतृत्व लिन गगन तयार पनि हुन सक्छन्। यसै केही भन्न सकिन्न।’

देउवा टिमका केही केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरू अहिले कोइरालासँग नजिक हुन थालेको दाबी गर्नेहरू पनि छन्। ‘अहिले शेरबहादुर दाइलाई सहयोग गर्दै आएका केही केन्द्रीय सदस्य, जिल्ला सभापति र नेताहरू शेखर दाइसँग नजिक हुन थालेका छन्’, देउवानिटक एक नेता भन्छन्, ‘केही नेताहरू अहिले देउवा दाइ र त्यसपछि शेखर दाइ भन्नेमा छन्। यस्तो भयो भने गगन पनि त समस्यामा पर्न सक्छन्। त्यही बुझेर गगन अहिले नबोलेका हुन सक्छन्।’

खुल्यो शेखरको महाधिवेशन केन्द्रित कार्यालय

पार्टीको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका कोइरालाका पक्षमा माहोल बनाउन सम्पर्क कार्यालय खुलिसकेको छ। गत बिहीबार काठमाडौँको अनामनगरमा सम्पर्क कार्यालय खोलिएको हो। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गुरुराज घिमिरेको संयोजकत्वमा देवराज चालिसे, गोमा केसी, भूपेन्द्रजंग शाही, टेकराज पौडेल, केशव सिंहलगायतले कार्यालय खोलेका हुन्।

पार्टीको १५औँ महाधिवेशन समयमै गर्न दबाब दिनु र  सभापतिमा कोइरालालाई जिताउने गरी माहोल खडा गर्नु नै कार्यालय स्थापनाको मुख्य उद्देश्य भएको नेताहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast