जन्तीढुंगा संंरक्षणका लागि पहल सुरु

हिमाल प्रेस २८ मंसिर २०८१ ८:३६ | Friday, December 13, 2024
जन्तीढुंगा संंरक्षणका लागि पहल सुरु

दाङ- तुलसीपुर उपमहानगरपालिका-१३ मा रहेको जन्तीढुंगा संंरक्षणका लागि स्थानीय सरकारले पहल सुरु गरेको छ। त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल थालेको तुलसीपुर उपमहानगरपालिका-१३ का वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए। उनका अनुसार वडाले त्यसको संरक्षणका लागि चारैतिरबाट तारबार गरिसकेको छ।

यसपटक पनि सो क्षेत्रको विकास गर्न वडाबाट केही रकम विनियोजन गरिएको वडाध्यक्ष पौडेलले बताए। यसैबीच सो क्षेत्रको बिहीबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्थलगत निरीक्षण गरेका छन्।

सो अवसरमा नगरप्रमुख खड्काले मानव उत्पत्तिका क्रममा मानव कंकाल फेलापरेको तुही उपत्यकाभित्र पर्ने जन्तीढुंगाको संरक्षणमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार बजेट व्यवस्थापन गरिने बताए।

उनले यस क्षेत्रको बाघढुंगा, हात्तीढुंगा र जन्तीढुंगाको संरक्षण गरी यस क्षेत्रको पर्यटकीय केन्द्रका रूपमा विकास गरिने बताए। वडा नम्बर १४ वडाध्यक्ष शंकर खड्काले जन्तीढुंगा क्षेत्रमा खानेपानी, विद्युत् विस्तार सुरु गरिएको बताए।

जन्तीढुंगा संरक्षण समितिका अध्यक्ष हुमबहादुर नेपालीले संरक्षणका लागि विगतदेखि नै प्रचारप्रसार गर्दै आएको बताए। पौराणिककालमा जन्ती जाने क्रममा सोही ठाउँमा पुगेको समयमा रात परेको र सोही ठाउँमा अर्को दिन ती जन्तीढुंगाका रूपमा प्रतीक रहेको भन्ने जनविश्वास रहेको छ।

करिब एक बिघा क्षेत्रफलमा जोडिएर हजारौँ ढुंगा त्यहाँ रहेका छन्।

प्रकाशित: २८ मंसिर २०८१ ८:३६ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast