रत्नेचौर-भकुण्डे-भकिम्ली सडकको ७० प्रतिशत प्रगति

हिमाल प्रेस २६ मंसिर २०८१ १५:१४ | Wednesday, December 11, 2024
रत्नेचौर-भकुण्डे-भकिम्ली सडकको ७० प्रतिशत प्रगति

गलेश्वर (म्याग्दी)- सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर-ज्यामरुककोट-भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ।

सडक स्तरोन्नति तथा कालोपत्रका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र-नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो। आगामी चैतमा उक्त ठेक्का सम्झौताको समयावधि सकिँदै छ।

विसं २०५६ मा ट्र्याक खोलिएको बेनी नगरपालिका-१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो।

अहिले सडक चक्लाउने, पर्खाल लगाउने, नाली बनाउनेलगायत काम भइरहेको र दैनिक ४० जनाले काम गरिरहेका सडक कार्यालयका इन्जिनियर अरुण सेढाइँले जानकारी दिए। सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किमी आरसिसी ढलान गर्ने उनको भनाइ छ। ‘अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ, ठेक्का अवधि सकिन चार महिना मात्र बाँकी छ, समयमा नै बजेट प्राप्त भए पुसमा ग्राभेल गर्ने, माघमा बेस बिछ्याउने र फागुनदेखि कालोपत्रको काम गर्ने योजना हो’, सेढाइँले भने।

घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि भइरहेको सेढाईंले बताए। संघीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक/एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०/४० करोड विनियोजन गरेको थियो। भकुण्डे तथा उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नाली निर्माण गर्ने काम सकिएको छ। पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दूरीमा पर्ने बेनी–३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए।

संघीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किमी तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो। यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ।

प्रकाशित: २६ मंसिर २०८१ १५:१४ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast