‘बलात्कारको प्रतिकार गर्दागर्दै’ सुचिनाको गयो ज्यान

विजय नेपाल २६ मंसिर २०८१ १२:२२
58
SHARES
‘बलात्कारको प्रतिकार गर्दागर्दै’ सुचिनाको गयो ज्यान सुचिनाको हत्या गरेको आरोपमा प्रक्राउ परेका मनशमशेर गुरुङ।

पोखरा– घाँस काट्न लेक गएकी गोरखाकी १८ वर्षीया सुचिना घले बेपत्ता भएको तीन दिन भइसकेको थियो। उनको खोजीकार्य भइरहँदा  १८ मंसिरमा बारपाक सुलिकोट गाउँपालिका-१ स्थित मैखर्क जंगलमा  खाल्डोमा गाडिएको अवस्थामा शव फेला पर्‍यो। घटनाको प्रकृति हेर्दा उनलाई कसैले बलात्कारको प्रयास गरी मारेको हुन सक्ने निष्कर्षमा प्रहरी पुग्यो। आखिर कसले गर्‍यो त हत्या?

अनुसन्धानका क्रममा प्रहरीले करिब ५० जनासँग सोधपुछ गरिसकेको थियो। बारपाक सुलिकोट गाउँपालिका-१ निवासी घलेको हत्यामा संलग्न अभियुक्तसम्म पुग्न गोरखा प्रहरीलाई एक साता लाग्यो। युवती हत्यामा संलग्न स्थानीय एक विद्यालयका शिक्षक ४३ वर्षीय मनशमशेर गुरुङलाई गोरखा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेको छ।

घटना अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार गाउँकै शिक्षक मनशमशेरले बलात्कार प्रयास गरेको र प्रतिकारमा ज्यान लिएको साबिती बयान दिएका छन्।

यसरी गरियो अनुसन्धान

सुचिना हराएपछि घरपरिवारले बारपाक प्रहरी चौकीमा सूचना दिएर खोजीका लागि आग्रह गरेका थिए। त्यसपछि डीएसपी सुवेदीको कमान्डमा तालिमप्राप्त कुकुर लिएर सुचिना घाँस काट्न गएको लेकको जंगलतर्फ प्रहरी खोजीमा निस्क्यो। यत्तिकैमा उनको शव खाल्डो खनेर गाडेको अवस्थामा फेला पर्‍यो र प्रहरीले चारैतिर ‘रेकी’ थाल्यो।

त्यस वरपर डोको,  हँसिया, चप्पल, टोपी फेला परेको थियो। युवतीको कम्मरमा नाम्लो लियो। पछ्यौरी पनि बाँधिएको अवस्थामा भेटियो। ज्याकेट खोलेको अवस्थामा भेटियो। त्यसभन्दा अलि पर प्रहरीले कपाल बाँध्ने रबर र कपालको गुजुल्टो फेला पारेको सुवेदीले बताए।

स्थानीय जनप्रतिनिधि, युवतीका माइती पक्ष तथा गाउँलेको उपस्थितिमा शव उत्खननपछि पोस्टमार्टमका लागि अस्पताल लगियो। डीएसपी सुवेदीका अनुसार आपराधिक क्रियाकलाप गर्ने, महिलासँग नजिक हुने लगायतका ‘क्लु’ का आधारमा प्रहरीले अनुसन्धान थाल्यो।

त्यस्तो क्रियाकलाप गर्ने मानिस गाउँकै शिक्षक मनशमशेर बारेमा गाइँगुइँँखालको कुरा आयो। त्यसपछि मनशमशेरलाई सामान्य सोधपुछ गरी तारेखमा छोडिएको सुवेदीले बताए। प्रहरीले एक सातामा ५० जनाभन्दा बढी मानिससँग सोधपुछ गरिसकेको थियो।

उता तारेखमा रिहा भएका मनशमशेरलाई प्रहरी निगरानी गरिराखेको थियो। उनको क्रियाकलाप, चालढाल बुझिरहेको थियो। उनी पछिल्लो समय अतिरिक्त क्रियाकलापमा कम भाग लिने गरेको पाइएपछि प्रहरीले फेरि सोधपुछका लागि डाक्यो।

डीएसपपी सुवेदीले भने, ‘प्रारम्भिक बयानमा उनले प्रहरीलाई ढाँटेका थिए। घटनाको समयमा आफू घरमा रहेको बताए पनि उनी घरमा नभएको तथ्य फेला पर्‍यो। त्यो बेला उनी घाँस काट्न गएको थाहा भयो।’ हत्याकाण्ड भएको समय र उनले भनेको समय म्याचिङ भएपछि प्रहरीले अझ सूक्ष्म रुपमा अनुसन्धान अघि बढाएको उनले बताए।

डीएसपी सुवेदी भन्छन्, ‘पहिले उनले ढाँट्न खोजेका थिए। सोध्दै जाँदा उनले झुठ बोल्ने अवस्था रहेन। सनाखत गरिदिए।’ प्रहरीले मनशमशेरको घरको दराजमा एउटा कागजमा केही लेखेर छाडेको भेट्टायो। सुवेदीका अनुसार ‘मेरो बयान’ शीर्षकको उक्त नोटमा ‘मबाट कुनै निर्दोष नारीको ज्यान गयो’ भन्ने व्यहोरा लेखिएको कागज बरामद भएको छ। जुन नोट सुसाइड गर्ने खालको थियो।

अहिलेसम्मको अनुसन्धानमा ती युवक एक्लैले हत्या गरेको र शव व्यवस्थापन गरेको देखिएको छ। सुचिना घाँस काट्न गएको ठाउँ उनको घरदेखि करिब १ घण्टा टाढा लेकमा पर्छ। त्यहाँको भौगोलिक अवस्था नबुझेको र सामान्य मानिसलाई त्यहाँ पुग्न २/३ घण्टा पनि लाग्ने प्रहरी बताउँछ।

प्रहरी अनुसन्धानअनुसार घटना १५ मंसिर १५ गते शनिबारका दिन भएको थियो। बिदाको दिन भएकाले ती युवती सदाझैँ वनमा घाँस काट्न गएकी थिइन्। मनशमशेर अगाडि-अगाडि थिए, युवती पछिपछि थिइन्। गाउँकै मानिस भएकाले उनलाई आडभरोसा थियो। माथि जाँदै गर्दा एकान्तमा अरू कोही नदेखेपछि युवकले उनीमाथि जबर्जस्ती गर्न खोजे। युवतीले मानिन्। उनले प्रतिकार गर्न खोजिन्। प्रतिकारकै बीच अकालमा ज्यान गुमाएको प्रहरीको निष्कर्ष छ।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टमा युवतीमाथि बलात्कार भएको पाइँदैन। साबिती बयानमा युवकले जबर्जस्ती गर्न खोज्दा घटना भएको स्विकारिसकेका छन्। डीएसपी सुवेदीले भने, ‘हत्यापछि अलि परसम्म ढाडमा नाम्लोमा बोकेर शव लगेको र हँसियाले माटो खनेर कच्याकुचुक पारेर स्याउलाले छोपेर गाडेको बयान दिएका छन्।’

घटनाको प्रकृति हेर्दा जटिल भए पनि अनुसन्धानका विभिन्न बाटा खुला गर्दै गर्दा नजिक पुग्न सकिएको डीएसपी सुवेदीले बताए। गत वैशाखमा बिहेपछि बारपाक आएकी थिइन्। काठमाडौँमा पढ्न बसेकी उनको घरमा गएको बखत लेकमा घाँस घाट्न जाँदा यसरी हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ९ महिनाअघि काशीगाउँबाट विवाह गरेर बारपाक पुगेकी सुचिना परिवारलाई सघाउन घाँस काट्न गएकी थिइन्।

प्रकाशित: २६ मंसिर २०८१ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast