गोल बाेकेर जन्मभूमि फर्किएका हालान्ड

हिमाल प्रेस १४ पुष २०७९ ८:५५ | Thursday, December 29, 2022
गोल बाेकेर जन्मभूमि फर्किएका हालान्ड

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले १५ खेल खेलेको छ। एर्लिङ हालान्डले ती १५ मध्ये १४ खेलमा खेलेका छन्। अरु खेलाडीका लागि प्रश्न यस्तो हुन्छ, उनले कति खेलमा गोल गरेका छन्? तर हालान्डका लागि यो प्रश्न सही होइन। उनका लागि सही प्रश्न हो, उनले कति खेलमा गोल गरेका छैनन्?

चोटका कारण लिगमा एक खेल गुमाएका हालान्डले खेलेका बाँकी खेलमध्ये जम्मा तीनमा मात्रै गोल गर्न सकेका छैनन्। यो सिजन उनले गोल गर्न नसकेका विपक्षी हुन्, लिभरपुल, ब्रेन्टफोर्ड र बर्नमाउथ। लिभरपुल र ब्रेन्टफोर्डसँग सिटी पराजित भएको थियो। बर्नमाउथलाई भने सिटीले ४–० ले हरायो।

ब्रेन्टफोर्डविरुद्धको खेल विश्वकपअघि सिटीले खेलेको अन्तिम खेल थियो। अब प्रिमियर लिग फर्किएकाे छ। हालान्ड पनि मैदान फर्किएका छन्। त्यो पनि आफ्नो स्वाभाविक लयमा।

बुधबार राति सिटीले लिड्स युनाइटेडमाथि ३–१ को जित दर्ता गर्दा हालान्डले दुई गोल गरे। लिड्सको मैदानमा सिटीले पहिलो हाफको उत्तरार्द्धमा रोड्रिको गोलमार्फत अग्रता लिएको थियो। दोस्रो हाफको ५१ औँ मिनेटमा सिटीको अग्रता दोब्बर भयो। यसपल्ट गोल हालान्डले गरेर उनले ६४ औँ मिनेटमा दोस्रो गोल गरे। घरेलु टिमले ७३ औँ मिनेटमा गोल फर्कायो। पास्कल स्ट्रुइकले गरेको गोलले हार अन्तर त घटायो, लिड्सलाई खेलमा फर्काउन भने सकेन।

लिड्सलाई हराएपछि सिटीले शीर्षस्थानको आर्सनलसँगको दूरी पाँच अंकमा झारेको छ। सिटीसँग अब ३५ अंक छ भने आर्सनलले ४० अंक बटुलेको छ। यी दुईभन्दा एक–एक खेल बढी खेलेका न्युकासल युनाइटेड र टोटनहम क्रमशः तेस्रो र चौथो स्थानमा छन्। १६–१६ खेल खेलेका न्युकासल र टोटनहमको पोल्टामा ३३ र ३० र अंक छ।

सिटीको लिग रक्षा अभियानमा अगुवा बनेका हालान्डको लिगमा गोलको संख्या २० पुगेको छ। लिगमा छैटौँ पटक एकभन्दा बढी गोल गरेका हालान्डले लिड्सविरुद्ध आफूले कम गोल गर्न सकेको प्रतिक्रिया दिए। ‘मैले आज पाँच गोल गर्नुपर्ने थियो। मैले गोल गर्ने पर्याप्त अवसर पाएको थिए। अपेक्षा गरे अनुसार गोल गर्न नसके पनि टिमले जित्यो, त्यसमा खुसी छु। यो खेलले मलाई दिएको सन्देश हो, स्ट्राइकरका रुपमा मैले अझ धेरै अभ्यास गर्नुपर्छ,’ हालान्डले भने।

संयोग मान्नुपर्छ, हालान्ड लिड्समै जन्मिएका हुन्। उनका पिता एल्फी सन् १९९७ देखि २००० सम्म लिड्सका खेलाडी थिए। त्यहीबेला जन्मिएका हुन् एर्लिङ हालान्ड। लिड्सबाट एल्फी सिटीतिर लागेका थिए। जहाँ हाल जुनियर हालान्ड खेल्छन्।

हालान्डले लिड्सविरुद्ध गोल गर्दा उग्र खुसीयाली मनाएनन्। ‘यो मेरो लागि अविस्मरणीय क्षण हो। कुनैदिन सिटीको टिमबाट यहाँ खेल्न पाउँछु, गोल गर्छु भनेर सोचेकै थिइनँ,’ लिड्सको रंगशाला एलान्ड रोडमा आफ्ना पितासामु गोल गरेपछि हालान्डले भने। हालान्डका दुई गोलका कारण हारेको लिड्स हाल अंक तालिकाको १५ औँ स्थानमा छ। १५ खेलबाट १५ अंक नै बटुलेको लिड्स रेलिगेसन क्षेत्रभन्दा मात्र दुई अंकले माथि छ।

प्रकाशित: १४ पुष २०७९ ८:५५ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast