
काठमाडौँ- यू १९ एसिया कप क्रिकेटमा प्रतियोगिताबाट बाहिरिसकेका नेपाल र अफगानिस्तानले मंगलबार एक अर्काको सामना गर्दैछन्।
दुवै टोली जितले सान्त्वना जितसहित प्रतियोगिता अन्त्यको लागि प्रयास गर्नेछन्। खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो।
एसीसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन्। प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत: छनोट भएका थिए। नेपाल, यूएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए।
गत वर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा यूएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
समूह ए मा भारत, पाकिस्तान, जापान र यूएई छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन्। फाइनल मंसिर २३ गते हुनेछ।