काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा जित निकालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो पटक स्थानीय सरकारमा पुगेको छ।
यसअघिको स्थानीय तहको निर्वाचनमा रास्वपा स्थापना भएकै थिए। काठमाडौँ १६ को जित नै रास्वपाको पहिलो जित हो।आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९०२ मतका साथ विजय हासिल गरेकी हुन् ।
नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको सो स्थानमा भएको उपनिर्वाचनमा रोजिनाले विजय हासिल गर्दा कांग्रेसका उम्मेदवार भने तेस्रो भए । कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएका हुन् ।
एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत पाए । उपनिर्वाचनमा रास्ववा विजयी हुँदा कांग्रेसले आफूले पहिले जितेको वडाध्यक्ष पद सुरक्षित गर्न असफल रह्यो ।
निर्वाचन आयोगका अनुसार राप्रपाका श्याम कृष्ण श्रेष्ठे पनि ७७४ मत पाए भने एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १०९२ मत पाए ।
यस्तै स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठले ४९८ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार पशुपति कठायतले १३५ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार सम शाक्यले पनि ३३४ मत पाउँदा अन्य उम्मेदवारले भने १०० मत पनि कटाउन सकेनन् । काठमाडौँ १६ मा १८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।