
काठमाडौँ- एसीसी यू-१९ एसिया कपको दोस्रो खेलमा नेपाल बंगलादेशसँग १४१ रनमा अलआउट बनेको छ। टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपाली टोलीले ४५.४ ओभरमा सबै विकेट गुमाएको थियो।
नेपालका लागि ओपनर आकाश त्रिपाठ्ठीले ४३, अविशेक तिवारी र उत्तम मगरले समान २९२९ रन प्रहार गरेका थिए। नेपालका अन्य ब्याट्सम्यानले दोहोरो बन बनाउन सकेनन्। बंगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २ विकेट लिए ।
अबको केहीबेरमा नेपाल बलिङमा उत्रनेछ। पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ।
नेपाली टोली श्रीलंकासँग ५५ रनको हार ब्यहोरेको थियो। यो खेलमा नेपालाई पुनरागमनको अवसर रहनेछ। तर साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो। अघिल्लो सिजनको फाइनलमा उसले आयोजक यूएईलाई हराएर उपाधि जितेको थियो। बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो।
नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। एसिया कपमा शनिबार भएको खेलमा पाकिस्तानले भारतलाई ४३ रनले हराएको थियो भने यूएईसँग जापान २७३ रनले पराजित भयो।