सहकारी ठगीमा जोसुकै भए पनि कारबाहीको भागीदार : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस १५ मंसिर २०८१ १६:०५
12
SHARES
सहकारी ठगीमा जोसुकै भए पनि कारबाहीको भागीदार : उपप्रधानमन्त्री सिंह

पोखरा– उपप्रधान तथा शहरी विकास विकास मन्त्री प्रकाशमान सिंहले सहकारी ठगीमा जोसुकै भए पनि कारबाही भएरै छाड्ने बताएका छन्।

शनिबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

उनले भने, ‘जोसुकै होस्, एबिसिडी पार्टीको एबिसिडी नेता तथा कार्यकर्ता तथा आमजनतालाई जे नियम हुन्छ, त्यही बराबर हुन्छ। रुल अफ ल पालना गर्नुपर्छ।’

पूर्व उपप्रधान एवं गृहमत्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई डेढ महिनादेखि कास्की प्रहरी हिरासतमा राखिएकोमा रास्वपाद्वारा राजनीतिक पूर्वाग्रह भन्ने विषयमा उनले भने, ‘यसमा केको पूर्वाग्रह? अरुलाई नगरीकन एउटै पार्टीको एउटै नेतालाई गरेको भए पो पूर्वाग्रह हुने हो। सबैलाई गरिराखेको छ। रुल अफ ल भनेको सबैलाई समान हुन्छ। एकथरिलाई गर्नै हुँदैन भन्ने छ। सामाजिक सञ्जालमा आएपछि यसलाई छोड्न हुँदैन भन्नु त भएन नि।’

उनका अनुसार अहिले विभिन्न सहकारीको रकम हिनामिना भएकोमा ६ सय जनाभन्दा बढीलाई मुद्दा चलाएर अनुसन्धानमा राखिएको छ।

सहकारीपीडितको बचत रकम फिर्ता कहिले हुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले ठगी गरेको तथा रकम हिनामिना गरेकाहरुको सम्पत्ति हेर्ने र कसरी सरकारले उक्त रकम फिर्ता गर्न सकिन्छ भन्नेमा हेरिरहेको प्रस्ट पारे। ‘भूमि तथा सहकारी मन्त्रालयबाट प्रोसेसिङ गरेर केहीको रकम फिर्ता गरिसकेको कुरा समाचारमा सुनिसक्नुभएको छ,’ उनले भने।

पोखराबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गरिरहेको उनले बताए। झण्डै २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यतिखेर आन्तरिक उडानमै सीमित छ।

यहाँ केही अन्तर्राष्ट्रिय उडान चार्टर्ड मात्र भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालका विभिन्न प्रोजेक्ट अब ऋणमा नभई अनुदानमा लिन सकिने गरी सम्झौता हुने बताए। अर्थतन्त्र र विकासलाई आधार मानेर प्रोजेक्ट छान्दाखेरि नेपाललाई उपयुक्त हुने मात्र छान्नुपर्ने बताए।

प्रकाशित: १५ मंसिर २०८१ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast