गाउँपालिकाले सहुलियत दरमा मिलाइदिएको हाटबजारमै किनबेच भइरहेछन् उत्पादन

हिमाल प्रेस १५ मंसिर २०८१ १०:३२ | Saturday, November 30, 2024
गाउँपालिकाले सहुलियत दरमा मिलाइदिएको हाटबजारमै किनबेच भइरहेछन् उत्पादन

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको हाटबजारका कारण किसानले उचित मूल्यमा उत्पादन बेचिरहेका छन्। गाउँपालिकाले कृषि सामग्री ढुवानीका लागि सवारीसाधनको व्यवस्थापन र अनुदान दिएरपछि किसान हर्षित छन्।

गाउँपालिकाले एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ। हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने काम गरेको छ। गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषि उपज बिक्री वितरणका लागि प्रभावकारी थलोको रूपमा विकास भएको हो।

हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ।

गाउँपालिकाले दस वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। चुमानका अुसार वार्षिक दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो।

२२ सय किलो मास बिक्री

आँबुखैरेनी ३ मा सञ्चालन गरेको हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनका अनुसार उक्त मास प्रति किलो दुई सय रुपैयाँमा बिक्री गरेका छन्। हाटबजारमा २९ जना कृषकले मास बिक्री गरेका छन्।

उनले भने, ‘त्यस वडाका कृषकहरू व्यावसायिक मास उत्पादनमा लागेका छन् । मासले बजार पाउँदा कृषक खुसी छन्।’ गाउँपालिकाले हाटबजारसम्म मास ढुवानीका लागि सवारी साधनको व्यवस्थापन गरिदिएको थियो। त्यस्तै मास उत्पादन गर्ने कृषकलाई प्रति किलो २५ अनुदान दिने व्यवस्था मिलाइएको प्रमुख केसीले बताए।

हाटबजारमा मास बिक्री गरेर एक कृषकले बढीमा ६० हजार रुपैयाँसम्म आम्दानी गरेका छन्। खेउसिङका कृषक चन्द्रबहादुर भुजेलले आफूहरूले उत्पादन गरेको मासले बजार पाउँदा यस खेतीतर्फ लाग्न हौसला मिलेको बताए।

उनले भने, ‘मासको ढुवानी पनि गाउँपालिकाले नै गरिदिएको छ। उत्पादनका आधारमा अनुदानको व्यवस्था पनि मिलाउँदा कृषकलाई सहज भएको छ।’ रासस

प्रकाशित: १५ मंसिर २०८१ १०:३२ | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast