लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वशान्ति, करुणा र मित्रताबाट मानव जातिको कल्याण हुने बताएका छन्। लुम्बिनी बौद्ध विश्व विद्यालयको २० औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई शुक्रबार लुुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति, करुणा र मित्रताबाटै समृद्धि हासिल गर्न सकिने बताएका हुन्।
‘बुद्धका विचार अन्धविश्वासमा होइन, आफ्नै उपदेशलाई पनि परीक्षण गर भन्नुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘मानव जातिको कल्याण शान्ति, करुणा, मित्रता र समानताबाटै हुन्छ।’ उनले विश्वभरका बौद्ध धर्मावलम्बी र विश्वभरका शान्तिप्रेमीहरूको पावनभूमिका रूपमा लुम्बिनीलाई विकास गरिने बताए।

कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनसँगै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा गर्नुपर्नेमा जोड दिइन्।

विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक गरेका २८९ जना विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो। विश्वविद्यालयले बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ। उपाधि प्राप्त गरेकी भिक्षुणी धम्मावतीले आफू १२ वर्षदेखि बुद्ध दर्शनका लागेको बताउँदै मानार्थ विद्यावारिधिको उपाधि दिएकोमा खुसी व्यक्त गरिन्।

दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १५ जना विद्यार्थीहरुलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिएको थियो।
दीक्षान्त समारोहअघि १७ औं सिनेट सभाको बैठक समेत सम्पन्न गरिएको रजिष्टार तिलक आचार्यले बताए। प्रधानमन्त्री एवं कुलपति ओलीको अध्यक्षतामा सिनेट बैठक सम्पन्न भएको हो।
विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। ती शैक्षिक कार्यक्रमहरूमा २३०८ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ६८ जना विदेशी विद्यार्थीहरू विश्वविद्यालय अध्ययन गर्दैछन्।

लुम्बिनी, बुटवल, देवदहमा विश्वविद्यालयका आंगिक क्याम्पसहरू सञ्चालनमा छन्। दाङ, काठमाडौँ उपत्यका, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसहरूमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन्।





