 
                             
                                            सोल (रासस/एएफपी)- युक्रेनलाई दक्षिण कोरियाको सम्भावित सैन्य सहयोगका बारेमा अधिकारीहरूबीच छलफल हुने समाचारपछि युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा आइपुगेको र द्विपक्षीय बैठकहरू गरिरहेको किएभले बुधबार जनाएको छ।
उत्तर कोरियाले युक्रेनविरुद्ध रुसको युद्ध प्रयासलाई सहयोग गर्न हजारौँ सेना तैनाथ गरेको खुलासा भएपछि दक्षिण कोरियाले द्वन्द्वमा रहेका देशहरूलाई हतियार उपलब्ध नगराउने लामो समयदेखि रहेको नीतिलाई उल्टाउन सक्ने संकेत गरेपछि यो भ्रमण भएको हो। युक्रेनी रक्षा मन्त्रालयले रक्षा मन्त्री रुस्तम उमरोभ पहिले नै दक्षिण कोरियामा रहेको र त्यहाँ बैठकहरू जारी रहेको एएफपीलाई पुष्टि गरेको छ।
दक्षिण कोरियाली मिडियाले उमरोभ र राष्ट्रपति युन सुक येओलबीचको योजनाबद्ध बैठक भएको रिपोर्ट गरेको थियो। यद्यपि राष्ट्रपति कार्यालयले पुष्टि गर्न अस्वीकार गरेको थियो।
युक्रेनी प्रतिनिधिमण्डलले ‘रुसमा उत्तर कोरियाको सेनाको तैनाथीबारे खुफिया जानकारी साझा गर्ने’ र किएभको युद्ध प्रयासका लागि सोलको समर्थन खोज्ने अपेक्षा गरिएको दक्षिण कोरियाली योन्हाप समाचार एजेन्सीले अज्ञात स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत महिना दक्षिण कोरियाली मिडियालाई दिएको अन्तर्वार्तामा आफ्नो देशले आवश्यक सैन्य सहयोगको सूची पेस गर्ने तयारी गरिरहेको बताएका थिए। उनले सूचीमा तोपखाना र वायु रक्षा प्रणालीहरू समावेश हुने बताए।
यसअघि राष्ट्रपति युनले दक्षिण कोरियाले युक्रेनलाई प्रत्यक्ष सहयोग गर्ने कि नगर्ने र कसरी गर्ने भन्ने निर्णय ‘उत्तर कोरियाको संलग्नताको स्तर’ मा निर्भर हुने र सोलले ‘हतियार प्रदान गर्ने सम्भावनालाई अस्वीकार गरिरहेको छैन’ भनेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 