इतिहासमा आज

संयुक्त राष्ट्रसंघ मुख्यालयमा नेपालको झन्डा फहराएको त्यो दिन [भिडियो सहित]

सन्तोष खडेरी २५ फागुन २०७८ १२:०८
संयुक्त राष्ट्रसंघ मुख्यालयमा नेपालको झन्डा फहराएको त्यो दिन [भिडियो सहित] तस्बिर : यूएन आर्काइभ

सन् १९४९ को फेब्रुअरी १३ मा मोहनशमशेर जंगबहादुर राणा नेतृत्वको सरकारले पहल थालेको ६ वर्षपछि १९५५ को डिसेम्बर १४ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पाएको हो। नाजी जर्मनीको हार र जापानको आत्मसमर्पणपछि दोस्रो विश्वयुद्ध थामिए पनि छिट्टै अमेरिकी नेतृत्वको पश्चिमी खेमा र सोभियत रुस नेतृत्वको कम्युनिस्ट खेमाबीचको प्रभुत्वको लडाइँमा संसार विभाजित हुन पुग्यो। तिनै शक्ति राष्ट्रहरुको आपसी टकरावका कारण सोभियत ब्लकको बारम्बारको भिटोले त्यतिबेला सदस्यताका लागि आवेदन दिएका नेपाल लगायतका धेरै मुलुकलाई अप्ठ्यारो परेको थियो।

१९५५ को अन्त्यतिर शक्ति राष्ट्रहरुबीच प्याकेजमा सहमति जुटेर सन् १९४६ यता नै सदस्यताका लागि थाती रहेका डेढ दर्जन मुलुकको प्रक्रिया ०८ डिसेम्बरमा एकसाथ अगाडि बढ्यो। १४ डिसेम्बर १९५५ को सुरक्षा परिषद् बैठकबाट सर्वसम्मतिले नेपालसहित १६ राष्ट्रको नामावली स्वीकृत गरी दसौँ महासभामा पठाउने निर्णय भएको थियो। सोही दिन बेलुकी ९ बजे राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा चलिरहेको दसौं महासभाको ५५५ औं सत्रमा सुरक्षा परिषद्का अध्यक्षले महासभाका अध्यक्षलाई सम्बोधन गरी पठाएको पत्रअनुसार आवेदक नयाँ राष्ट्रलाई सदस्यता प्रदान गर्ने प्रस्ताव प्रस्तुत गरे। प्रस्तावमा महासभामा छलफल भई मतदान हुँदा नेपालले कुल ५७ मध्ये ५७ मत नै पाएको थियो। सोही दिन अन्य कतिपय मुलुकमाथि मतदान हुँदा केहीको विरुद्धमा र केही अनुपस्थित रहेको मत नेपालको हकमा भने सर्वसम्मत भएको थियो।

६५ वर्षपहिले ९ मार्च १९५६ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा संसारको एकमात्र त्रिकोणात्मक राष्ट्रिय झन्डा फहराइएको थियो।

नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेको उपलक्ष्यमा संसारभरका मित्र राष्ट्रहरुबाट बधाई र शुभकामना सन्देश प्राप्त गरेको थियो। ८ जनवरी १९५६ मा तत्कालीन राजा महेन्द्रले नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेको उपलक्ष्यमा शाही वक्तव्य जारी गरी हर्ष प्रकट गर्दै त्यसमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। त्यस्तै ९ जनवरीमा नेपालका तत्कालीन परराष्ट्रसचिव नरप्रताप थापाले रेडियो नेपालबाट वक्तव्य जारी गर्दै संयुक्त राष्ट्रसंघको उद्देश्य र आवश्यकताबारे प्रस्ट पारेका थिए।

९ मार्च १९५६ को दिउँसो १२ः२५ मा राष्ट्रसंघका तत्कालीन महासचिव ड्याग ह्यामर्साेल्डको उपस्थितिमा संयुक्त राष्ट्रसंघ मुख्यालयमा नेपालसहित नवप्रवेशी १६ सदस्य राष्ट्रहरुको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको थियो। समारोहमा ह्यामर्सोल्डसँगै संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत हेनरी लज जुनियर, रकफेलर सेन्टरका अध्यक्ष रकफेलर उपस्थित थिए। महासचिव ह्यामर्सोल्डले नवप्रवेशी राष्ट्रहरुलाई स्वागत गरेका थिए। झन्डोत्तोलन गरिएका अन्य राष्ट्रमा अल्बानिया, बुल्गेरिया, हंगेरी, रोमानिया, जोर्डन, आयरल्यान्ड, पोर्चुगल, इटाली, अस्ट्रिया, फिनल्यान्ड, श्रीलंका, लिबिया, कम्बोडिया, लाओस र स्पेन थिए। यी १६ वटा नवप्रवेशी सदस्य राष्ट्रहरु थपिएपछि त्यहाँ झन्डा रहने राष्ट्रहरुको संख्या ७६ पुगेको थियो।

नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि प्रथम राजदूत (राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि) का रुपमा ५ अक्टोबर १९५६ मा हृषीकेश शाह नियुक्त भएका थिए। सोही नोभेम्बरमा स्वेज नहर र हंगेरी मामिलामा राष्ट्रसंघले आयोजना गरेका दुई आपत्कालीन विशेष सत्रबाट नेपालले संयुक्त राष्ट्रसंघको गतिविधिमा औपचारिक रूपमा भाग लिएको हो। त्यस्तै नेपालले राष्ट्रसंघको एघारौं महासभामा पहिलोपटक भाग लिएको थियो। सन् १९५६ नोभेम्बर २९ मा नेपालका तत्कालीन परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माले राष्ट्रसंघको एघारौं महासभालाई सम्बोधन गरेका थिए।

उनको नेतृत्वमा एघारौँ महासभामा भाग लिन पुगेका नेपाली प्रतिनिधिमण्डलको उपनेतामा अधिराजकुमार हिमालयविक्रम शाह थिए भने सदस्यहरुमा हिमालय पत्नी श्रीमती प्रिन्सेप शाह, तत्कालीन शिक्षा सचिव केशरबहादुर केसी, राजाका सचिव सरदार हंसमान सिंह र परराष्ट्र मन्त्रालयका असिस्टेन्ट सेक्रेटरी दमनराज तुलाधर थिए।

प्रकाशित: २५ फागुन २०७८ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =