राष्ट्रिय प्रसारण लाइनमा जोडियो सान्जेन जलविद्युत् आयोजना

हिमाल प्रेस ७ मंसिर २०८१ २०:३३
114
SHARES
राष्ट्रिय प्रसारण लाइनमा जोडियो सान्जेन जलविद्युत् आयोजना तस्बिर क्याप्सन : राष्ट्रिय प्रसारण लाइनमा जोडिएको खुसियालीमा आयोजनाका प्राविधिक र कर्मचारीहरु। तस्बिर सौजन्य : रबिन कोइराला

काठमाडौँ- सान्जेन जलविद्युत कम्पनी लिमिटेडअन्तर्गत रसुवा जिल्लाको आमाछोदिङ्मो-५ मा निर्माणाधीन ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सम्पूर्ण प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान भएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले आयोजनाको बाँकी दुई युनिटको परीक्षण समेत आइतबार सम्पन्न गरी कुल जडित क्षमता अनुरुपकै विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने बताए।

क्यास्केड मोडलमा निर्माण गरिएका पिकिङ्ग रन अफ दी रिभर दुई आयोजना मध्ये सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाले २०८० असोज २१ गतेबाट ११ के.भी. कन्टिन्जेन्सी प्रसारण लाइनमार्फत् व्यापारिक उत्पादन गरिरहेको छ।

उक्त आयोजनाको विद्युत प्रवाहको लागि कम्पनी आफैँले ८ किलोमिटर ११ केभि डबल सर्किट प्रसारणलाइन तथा १३२/११ केभि सवस्टेसन तत्काल निर्माण कार्य सम्पन्न गरी चिलिमे त्रिशुली ६६ केभि प्रसारणलाइन मार्फत क्षमताको सीमितताका कारण करिब ८.५ मेगावाट विद्युत् वैकल्पिकरूपमा बिक्री गरी हालसम्म करीब ३० करोड रुपैयाँ आम्दानी गरिसकेको कम्पनीले जनाएको छ।

नेपालमा निर्माणाधीन पिकिङ्ग रन अफ दी रिभर आयोजनामध्ये नमुना आयोजना रहेको कम्पनीले जनाएको छ। सान्जेन माथिल्लो जलविद्युत आयोजनाको हेडवर्क्समा करिब ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने पिकिङ्ग पोखरीको निर्माण गरिएको कम्पनीको भनाइ छ।

उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गरी राष्ट्रिय विद्युत् प्रणाली उल्लेखनीय योगदान गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिंहले जानकारी दिए। उक्त पिकिङ्ग पोखरीका कारण आयोजना मर्मत सम्भार गर्न र इमर्जेन्सी ब्रेकडाउनमा समेत पावरहाउस सञ्चालन गर्न सकिने उनले जानकारी दिए।

कम्पनी सचिव घनश्याम श्रेष्ठले नेपालमा भएका क्यासकेड आयोजनामध्ये ईडीभी (इनर्जी डिस्सिपेटिङ भ्याल्भ) जडान गरी सान्जेन माथिल्लो आयोजना मर्मत सम्भार गर्दा पनि तल्लो आयोजना निरन्तर विद्युत् उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना रहेको बताए।

नेपालमै नमुना प्रविधिको रुपमा पहिलो पटक जडान गरिएको उक्त प्रविधी आगामी दिनमा अन्य क्यासकेड आयोजनाहरूले जडान गरी क्यासकेडको तल्लो आयोजना माथि माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिने उनले बताए।

प्रकाशित: ७ मंसिर २०८१ २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast