पोखराको टेम्पल ट्री उत्कृष्ट करदाता, बुझायो दुई करोड

हिमाल प्रेस ७ मंसिर २०८१ १९:३६
16
SHARES
पोखराको टेम्पल ट्री उत्कृष्ट करदाता, बुझायो दुई करोड

पोखरा- पोखरा लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ। कम्पनीले आव २०७९/०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला गरेको हो। यस्तै करदाता सेवा कार्यालय, स्याङ्जाअन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्नेमा खिलुङ कालिका कन्ट्रक्सन प्रालि रहेको छ।

‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवसलाई आन्तरिक राजस्व कार्यालय पोखराले १–७ मंसिरसम्म विविध कार्यक्रम गरी मनाएको छ। हप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार समापनमा कार्यालयले सबैभन्दा बढी दाखिला गर्ने करदातासहित विभिन्न व्यक्तिलाई सम्मान गरेको हो।

कर सप्ताह कार्यक्रमअन्तर्गत मध्यमस्तरीय कर कार्यालय काठमाडौंले उद्योग व्यापार, लगानी प्रर्वद्धन र कर सचेतना सम्बन्धी विषयमा आयोजना गरेको खुला कविता प्रतियोगितामा दोस्रो हुने गण्डकी बोर्डिङ स्कुल कक्षा ११ की छात्रा आत्मिका सुवेदीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो।

यस्तै, आन्तरिक राजस्व कार्यालय पोखराका उत्कृष्ट कर्मचारी नायव सुब्बा हरिश्चन्द्र पौडेललाई सम्मान गरिएको छ। करदाता सेवा कार्यालय पुतलीबजारका नायव सुब्बा  देवश्री त्रिपाठीलाई सम्मान गरिएको थियो।

हाल आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा ६८ हजार १ सय ९६, मूल्य अभिवृद्धि करमा १२ हजार ४ सय २४, अन्तःशुल्कमा ४ हजार ५ सय १४ करदाता दर्ता भएका छन्। १ लाख ९० हजार ३ सय ९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् भने इटिडिएस गर्ने प्रयोजनार्थ ५ सय २५ कार्यालयले विथहोल्डी स्थायी लेखा नम्बर लिएका छन्। पोखरामा कुल ५९ लाख ५९ हजार ३० जना करदाता छन्।

समारोहमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन प्रवर्द्धनमा स्थानीय प्रशासनले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पोखरा पर्यटकीय क्षेत्र भएकाले यसको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्ने समेत बताए।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सेवा प्रवाह थप सहज बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए। उनले आर्थिक ऐन, २०८१ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागि अनुरोध गरे। छुट सुविधा सधैँ नआउने भएकले यहीँ फागुनभित्र सुविधा लिन आग्रह समेत गरे।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्शलगायत व्यावसायिक संघ संगठनका प्रतिनिधिले आर्थिक अवस्था कमजोर रहेको अवस्थामा राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए।

आर्थिक ऐनले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आव २०७९/०८० सम्मको विवरण बुझाएमा र २०८० असारसम्मको बुझाउन बाँकी मूल्य अभिवृद्धि कर विवरण र सो बापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्तसम्म छुट सुविधा दिने व्यवस्था गरेको छ।

प्रकाशित: ७ मंसिर २०८१ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast