काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाने भएका छन्। आज शुक्रबार नेकपा एमालेले काठमाडौँमा आयोजना गरेको जागरणसभालाई सम्बोधन र्दै एमाले अध्यक्षसमेत रहेका ओलीले चीन भ्रमणको मिति सार्वजनिक गरेका हुन्।
‘म यही १७ गतेदेखि चीन भ्रमणमा जाँदैछु। अत्यन्तै सफल भ्रमण रहने छ। चीनबाट फर्किएपछि कसरी सफल भ्रमण भयो थाहा पाउनुहुने छ,’ उनले भने,’यतिकै चीन यसो घुमेर आऊँ भनेर जान लागेको होइन। देशको भलाइका लागि भ्रमण गरिन्छ।’
ओलीले बीआरआई ऋण सम्झौता गर्न नसकिनेतर्फ पनि संकेत गरे। उनले नेपाल अहिले कसैको पनि ऋण लिने अवस्थामा नरहेको बताए।
उनले चिनियाँ परियोजना बीआरआईलाई संकेत गर्दै अहिले देशको अवस्था कसैसँग ऋण लिने अवस्था नरहेको पनि बताए। ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौँ। अहिले ऋण लिने मनस्थित र अवस्था पनि छैन। तर हामीले उत्पादन बढाउनुपर्छ। आफैँले उन्नति गर्नुपर्छ’, प्रधानमन्त्रीको भनाइ छ।