‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

हिमाल प्रेस ६ मंसिर २०८१ ८:२९ | Thursday, November 21, 2024
‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

बागलुङ- बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन। खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन। स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन।खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन्।

बागलुङ नगरपालिका-१ स्थित बांगेचौर खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेको एक दशक बित्न लागेको छ। तर यहाँ तारबार मात्र हालेको छ। नगरपालिका र संघीय संरकारले बिनियोजन गरेको ८ आठ करोड बजेट फिर्ता गएको छ।

यस्तै बागलुङ नगरपालिका–९ स्थित तित्याङको आलेखर्क खेल मैदान पनि डीपीआरमै सिमिति भएको छ। बागलुङका अन्य स्थानीय तहले अघि सारेका खेल पूर्वाधार पनि बन्न सकेका छैनन्। तमान रंगशाला र काठेखोला गाउँपालिकाको रेशको खेल मैदान निर्माणले पनि गति लिन सकेको छैन।

रंगशालाको डीपीआर स्थानीय तहको सहयोगमा तयार भए पनि खेल मैदान बन्न नसकेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले बताए। बागलुङमा वषौँदेखि बजेट अभावमा खेल मैदान बन्न नसकेका खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। बांगेचौर खेल मैदानमा रहेका सल्लाका बोट हटाउन नसक्दा बजेट फ्रिज भएको छ।

‘खेल क्षेत्रमा राज्यले लगानी बढाउन सकेको छैन, खेलकुद गतिविधि ठप्प जस्तै छन्,’ उनले भने, ‘बांगेचौर खेलमैदान बनाउन ३० करोड ‍रुपैयाँ लाग्ने गरी डीपीआर बनाइएको थियो, अहिले लागत बढेर ५० करोड पुगेको छ।’

बागलुङ–९ तित्याङमा बजेट अभावले मैदान बनाउन नसकेको वडाध्यक्ष राजु थापाले बताए। बागलुङ बजारबाट नजिकै रहेको तित्याङस्थित आलेखर्क खेल मैदानलाई विस्तार गरी बांगेचौर खेल मैदानको विकल्पका रुपमा अगाडी बढाइएको हो।

झण्डै २० रोपनी जग्गामा फैलिएको आलेखर्क खेल मैदानलाई बहुउदेश्यीय रंगशाला निर्माण गर्न सकिने भएपनि बजेट अभावले रोकिएको छ।यसमा झण्डै ६ करोड रुपैयाँ खर्च लाग्ने देखिन्छ।

तमानखोला गाउँपालिकाले तमानगाउँमा निर्माण गर्ने रंगशाला समेत अधुरै छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। त्यो पर्याप्त नहुँदा संघीय र प्रदेश सरकारको मुख ताक्नुपरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए।

‘पालिकाको बजेटले रंगशाला बनाउन असम्भव छ,’ उनले भने, ‘यसका लागि कम्तिमा १० करोड बजेट चाहिन्छ।’ रासस

प्रकाशित: ६ मंसिर २०८१ ८:२९ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast