महेन्द्रनगर– गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन्।
बुधबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताए।
लोकतन्त्रमा जनताका अधिकारहरुको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था भएकाले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्ने उनले बताए।
मुलुकमा तीन÷तीन महिनामा संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिइराख्नुपर्ने अवस्था सिर्जना भएकाले संसदका दुई ठुला दल मिलेर सरकार बनेको उनको भनाइ थियो। उनले जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नती गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको बताए।
देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको उनको भनाइ थियो। उनले पछिल्लो सयम अपराधजन्य घटनाहरु वृद्धि भइरहेको बताए। ‘लागुऔषध अहिले सबैभन्दा ठुलो समस्याको रुपमा देखिएको छ,युवाहरु लागुऔषधका कारण अपराधजन्य क्रियाकलापमा संलग्न भइरहेका छन् यी समस्याहरुलाई पनि गहिरो ढंगले अध्ययन गरेर अगाढी बढ्नुपर्ने अवस्था छ,’ उनले भने।
गृहमन्त्री लेखकले शुसासन कायम राख्न र भ्रष्टाचार न्यूनीकरण गर्न सरकारले अत्यन्तै मेहनतका साथ काम गरिराखेको बताए।