काठमाडौँ- नेकपा एमाले जागरण सभाको सभास्थल परिवर्तन भएको छ। बुधबार जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले विज्ञप्ति जारी गर्दै जागरण सभाको पूर्वनिर्धारित सभास्थलमा परिवर्तन गरिएको जानकारी दिएका हुन्।
एमालेले उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा बिहीबार राजधानीमा जागरण सभाको आयोजना गर्दैछ। एमालेले भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने भएको छ।
विज्ञप्तिमा भनिएको छ,‘जागरण सभा अघि हुने र्याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरु भई सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने भएकाले सोही बमोजिम ट्राफिक व्यवस्था मिलाउन र जागरण ऱ्याली तथा सभामा सहभागी हुन सबैमा अनुरोध गरिन्छ।’
मुलुकमा फैलाउन खोजिएको अराजकता र अस्थिरतालाई चिर्न जागरण सभा आयोजना गरिएको एमालेले जनाएको छ।