बाढीपहिरोका कारण ११ अर्ब ८२ करोडको बिमा दाबी

हिमाल प्रेस ४ मंसिर २०८१ १०:३४ | Tuesday, November 19, 2024
बाढीपहिरोका कारण ११ अर्ब ८२ करोडको बिमा दाबी फाइल तस्बिर

काठमाडौँ- गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बिमा दाबी गरिएको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ। बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन्।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन्। दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, युनाइटेड अजोडमा तीन सय २३, सानिमा जिआइसीमा दुई सय १७, आइजिआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन्।

त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बिमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार/चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन्। कूल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

कूल एक हजार छ सय ५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ। कूल सम्पत्ति बिमा दाबी आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ रुपैयाँ भएकामा ४६ करोड ७० लाख ९७ हजार सात सय ८० रुपैयाँ मात्रै भुक्तानी भएको छ।

इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन्। विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। अधिकांश ऊर्जा उत्पादक केन्द्रले बिमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन्।

दाबी भएकामध्ये ३८ वटाको तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ रुपैयाँ मात्रै भुक्तानी भएको छ। मोटर बिमा निजीतर्फ आठ सय ८७ दाबी परेकामा दुई सय ८० को छ करोड १६ लाख ९७ हजार पाँच सय ८७ रुपैयाँ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ।

मोटर बिमा सार्वजनिकतर्फ तीन सय ५० दाबी हुँदा ९१ वटाको ४३ करोड दुई हजार एक सय ७७ रुपैयाँ बराबरको भुक्तानी भएको छ। पुशपन्छी बिमा ५१ दाबी पर्दा २१ वटाको २४ लाख ९२ हजार आठ सय ५४ रुपैयाँ मात्रै भुक्तानी भएको छ। बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए।

त्यस्तै, सामुद्रिक बिमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ। कृषिबाली बिमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ। विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा दुई सय ५१, मधेसमा एक सय एक, बागमतीमा दुई हजार नौ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ।

अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बिमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ। वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश बागमती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ। रासस

प्रकाशित: ४ मंसिर २०८१ १०:३४ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast