 
                             
                                            काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहेका पोखरेलले आइतबार हुवई प्रदेश जनसरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दुई देशका जनताको तहमा सम्बन्ध विस्तारित गर्नका लागि दुई देशका प्रदेश र स्थानीय तहबीच भगिनी सम्बन्ध वृद्धि आवश्यक रहेको बताए।
‘चीन र नेपाल सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टी र एमालेबीच गहिरो ऐतिहासिक सम्बन्ध छँदैछ। अब जनस्तरमा पनि सम्बन्ध विस्तार गर्न जरुरी छ’, उनले भने।
गत हप्ता लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरेको भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गरेको भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनमा महत्वपूर्ण योगदान पुगेको उनले स्मरण गरे।
उनले मित्रताको साक्षी इतिहास, भूगोल, राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका ऐतिहासिक पक्ष रहेको पनि उल्लेख गरे।
हुवई प्रदेश जनसरकारका गभर्नर तथा चिनियाँ कम्युनिष्ट पार्टी हुवई प्रदेश पार्टीका महासचिव वाङ जोङलिङले चीन र नेपालबीचको सम्वन्ध राम्रो र भविष्य उज्जवल रहेको चर्चा गर्दै सहयोग आदानप्रदानका अनेक क्षेत्र रहेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 