पुर्ख्यौली पेसालाई निरन्तरता दिएका सार्की भन्छन्- मादल बनाउन छाला पाइनँ

हिमाल प्रेस ३० कार्तिक २०८१ ५:५० | Friday, November 15, 2024
पुर्ख्यौली पेसालाई निरन्तरता दिएका सार्की भन्छन्- मादल बनाउन छाला पाइनँ

तनहुँ- शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थिए। ६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गरेका हुन्। बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उनले मादल बनाउन सिकेका हुन्।

पुर्ख्यौली पेसालाई निरन्तरता दिन आफूले यो पेसालाई अवलम्बन गरेको सार्कीले बताए। तर केही समययता मादल बनाउन छाला नपाउँदा उनलाई समस्या हुन थालेको छ।

‘बाबुकै कारणले म यो पेसामा पनि छु, मसँगै सीप सिकेर छोराले खैरेनीटारमा मादल पसल खोलेको छ’, उनले भने, ‘अहिले छाला नपाउँदा मादल बनाउन समस्या हुन थालेको छ।’

नारायणगढ, कावासोती, पुट्टारलगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए।

शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाइका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उनले बताए।

उनको भनाइ छ, ‘स्थानीयस्तरमा छाला फालिएको छ। नगरपालिकासँग आग्रह गरेको छु। निश्चित शुल्क तिरेर यही छाला किन्न पाए सजिलो हुन्थ्यो।’

उनले मादलसँगै सारङ्गी, खैजडी, झ्याली, दमाहा, ढोलकी, टेम्पोलगायत बाद्यवादनका सामग्री बनाउँदै आएका हुन्। त्यसका अलवा आरन पेसालाई पनि सँगसँगै अगाडि बढाएको उनको भनाइ छ।

प्रकाशित: ३० कार्तिक २०८१ ५:५० | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast