थकाली समुदायकै अगुवा थिइन् विमला गौचन

विजय नेपाल २९ कार्तिक २०८१ ११:४९
52
SHARES
थकाली समुदायकै अगुवा थिइन् विमला गौचन फाइल तस्बिर

पोखरा- गण्डकी प्रदेशमा नेपाली कांग्रेसकी समानुपातिक सांसद विमला गौचनको निधन भएको छ। बुधबार राति साढे १२ बजे काठमाडौँस्थित ग्रान्डी हस्पिटलमा हृदयाघातका कारण उनको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि पोखराबाट उपचारका लागि ग्रान्डी हस्पिटलमा भर्ना गरिएको थियो। पाँच दिनअघि उनलाई डेंगु पुष्टि भएको थियो।

बुधबार साँझ पनि आफैँले खाना खाएकी गौचनको राति एक्कासि अक्सिजन र रक्तचाप घटेको उपचारमा संलग्न चिकित्सकलाई उधृत गर्दै परिवारजनले बताएका छन्। ६३ वर्षीया गौचनको  हृदयाघातका कारण निधन भएको प्रदेश सांसद प्रकाश बरालले जानकारी दिए।

गौचनाका एक छोरा र एक छोरी छन्। छोरा अमेरिका भएकाले उनी फर्केपछि २ मंसिरमा म्याग्दीस्थित कालीगण्डकी किनारमा अन्त्येष्टि गरिने सांसद बरालले बताए। उनका पति राम गौचनको केही वर्षअघि निधन भइसकेको छ।

अन्त्येष्टिअघि  गण्डकी प्रदेश सरकारले श्रद्धाञ्जली सभा गर्नेछ।

नेपाली कांग्रेस र नेपाल महिला संघमा निरन्तर सक्रिय गौचन निकै सहयोगी स्वभाविक थिइन्।  उनको जन्म हिमालपारिको जिल्लामा मुस्ताङमा भएको हो। कर्मथलो म्याग्दी सदरमुकाम बेनीमा थियो। राजनीति र सामाजिक कामका साथै उनी होटल व्यवसायमा पनि संलग्न थिइन्। बेनीमा उनको शेर्पा होटल पुरानो र चल्तीको मानिन्छ।

पछिल्लो समय उनको पोखरा-१७ ड्यामसाइडस्थित घरमा बस्दै आएकी थिइन्।  राम म्याग्दी कांग्रेसका पुराना र प्रभावशाली नेता थिए। बेनीमा आफ्नो घर निर्माण गर्ने क्रममा पोखराबाट मार्बल लिएर गएका उनको मार्बलले च्यापिएर निधन भएको थियो।

पतिको निधनपछि पनि राजनीति र होटल व्यवसायलाई निरन्तरता दिएकी गौचनले नेपाल महिला संघको म्याग्दी जिल्ला अध्यक्ष, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत भएर काम गरेकी थिइन्। उनी नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्यसमेत हुन्।

उनको दुःखद निधनको खबरले सामाजिक सञ्जालमार्फत यतिखेर श्रद्धाञ्जलीका शब्दहरु बर्सिरहेका छन्।

नेपाली कांग्रेसका युवा नेता एवं प्रदेश सासद प्रकाश बरालले गौचनलाई हृदयको सफा र सबैलाई सहयोग गर्ने स्वभावको व्यक्तित्व रहेको स्मरण गर्छन्। ‘उहाँ सामाजिक भावले ओतप्रोत भएको सामाजिक कार्यकर्ता हुनुहुन्थ्यो। उहाँ राजनीतिक बाटोमा लागेकोमा राजनीतिको पनि मूल मर्म सामाजिक सेवा, दुःखकष्टमा परेका नागरिकको सेवामा साक्षी बन्ने हो। उहाँको यस्तै खालको चरित्र थियो,’ बरालले स्मरण गरे, ‘उहाँको स्वर्गारोहणले समाज, परिवार र सिंगो कांग्रेस पार्टी पंक्तिलाई ठूलो क्षति हुन गएको छ।’

नेविसंघ म्याग्दीका नेता निर्मल खत्री होटल व्यवसाय र राजनीतिलाई सँगसँगै अगाडि बढाउँदै गौचनले सामाजिक सेवामा पुर्‍याएको योगदान उल्लेख्य रहेको स्मरण गर्छन्।

गैरसरकारी संस्थाहरुसँग मिलेर काम गर्ने, आफू पनि विभिन्न संघसंस्थामा संलग्न रहने गौचन म्याग्दीको सामाजिक क्षेत्र अग्रणी महिला रहेको स्मरण गरे।

पछिल्लो समय होटल व्यवस्थापन भने छोरीलाई जिम्मा दिएकी थिइन्।

थकाली सेवा समिति पोखराका पूर्वअध्यक्ष विश्वमोचन गौचनले थकाली समुदायले एक जना अगुवा महिला नेत्रृ गुमाएको बताउँछन्। केही दिनअघि सांसद गौचनलाई पोखरामै भेटेको स्मरण गर्दै विश्वमोहनले जीवन कहिले सकिन्छ र यसको रहस्य बुझ्न नसकिने उल्लेख गरे।

‘सानैदेखि अरूलाई सहयोग गर्ने खालको उहाँको स्वभाव थियो। म्याग्दीमा पनि विभिन्न जाति, जनजाति सबैसँग मिलेर काम गर्नुहुन्थ्यो। कसैलाई अप्ठेरो परेको खबर सुन्नेबित्तिकै जहाँ पनि पुग्नुहुन्थ्यो। थकाली समुदायका एकजना अगुवा महिला नेत्रृ गुमाएको निकै दुःख लागेको छ।’

थकाली समुदायको उत्थानका लागि पनि उनले म्याग्दीमा मात्रै सबै सबैतिर समन्वय गरी हक, हित र संरक्षणमा काम गर्ने स्वभावको व्यक्तित्व रहेको थकाली सेवा समितिका पूर्व केन्द्रीय उपाध्यक्ष रहेका विश्वमोहनले सम्झे।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) अध्यक्ष कमला गिरीले पर्यटन व्यवसायसहित राजनीति क्षेत्रमा एक नेतृको अवसान भएको स्मरण गर्छिन्। उनी भन्छन्, ‘महिला भएर पनि साहसी, समयमै निर्णय गर्न सक्ने, निकै सक्रिय व्यक्ति हुनुहुन्थ्यो, महिलाका कुनै पनि मुद्दा संसद् होस् वा विभिन्न निकायमा आवाज उठाउन सक्ने हुनुहुन्थ्यो।’ उनको निधनले साविक धौलागिरीले महिला पर्यटनको क्षेत्रमा एक जना पायोनियर गुमाएको गिरीले बताइन्।

प्रकाशित: २९ कार्तिक २०८१ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast