हाई अल्टिच्युटका कारण बिरामी परे वन कार्यालय प्रमुख र रेञ्जर, ल्याण्ड गर्न नसकेपछि फर्कियो हेलिकप्टर

हिमाल प्रेस २८ कार्तिक २०८१ १९:४३ | Wednesday, November 13, 2024
हाई अल्टिच्युटका कारण बिरामी परे वन कार्यालय प्रमुख र रेञ्जर, ल्याण्ड गर्न नसकेपछि फर्कियो हेलिकप्टर फाइल तस्बिर

धादिङ- गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ।

मौसम अनुकूल नभएकाले ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरुलाई उद्धार गर्न नसकी हेलिकप्टर फर्किएको हो। पटकपटक ल्याण्ड गर्ने प्रयास गरे पनि प्रतिकूल मौसम र सञ्चार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।

ट्रेकिङ टोलीमा रहेका रुविभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेसक्याम्पको केही तल (करिब डेढ घण्टाको दूरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन्।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढु‌ंगाना बिरामी परेका छन्। सँगै ट्रेकिङमा रहेका ११ जना भने रुविभ्याली गाउँपालिका-४, हिन्दुङ नजिकै आइपुगेका छन्।

पर्यापर्यटन प्रवर्द्धनको उद्देश्यले धादिङको रुविभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली ६ दिनदेखि यात्रामा छन्। सोमबार राति त्यस स्थानमा पुगेका उनीहरू हाई अल्टिच्युटका कारण बिरामी परेका थिए।

त्यस स्थान नजिक मानववस्ती नभएको र सञ्चार सम्पर्क नभएपछि आज (बुधबार) बिहानदेखि ६ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए।

‘फसेको ठाउँ बेसक्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दूरीमा छ। त्यहाँ फोन लाग्दैन। सोमबार राति त्यहाँ पुगेको हो। अहिले पनि त्यही छ। हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौँ,’ तिमल्सिनाले भने।

ट्रेकिङ टोलीमा २७ जना रहेको र दुई जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको उनले जानकारी दिए। रासस

प्रकाशित: २८ कार्तिक २०८१ १९:४३ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast