काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले ‘बालबालिका ऐन, २०७५’ लाई संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आज (बुधबार) को बैठकमा ‘बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँगको छलफल’मा सांसदले ऐन लागू भएको ६ वर्षमा धेरै विषय परिर्वतन भएकाले ऐन संशोधन गरी समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिएका हुन्।
राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौलाले बालबालिकासम्बन्धी ऐन संशोधन गरी बालबालिकाको अर्थपूर्ण सहभागितालाई व्यवहारिकरूपमै कार्यान्वयनको पहल गर्नुपर्ने धारणा राखे।
अर्का सांसद सुरेशकुमार आले मगरले बालबालिकासम्बन्धी ऐन, २०७५ मा कमीकमजोरी रहेकाले देशैभरका बालबालिकाको अवस्था बारेमा विस्तृत अध्ययन गरेर सुझावका आधारमा ऐन संशोधन गर्नुपर्ने बताए।
बाल अधिकारकर्मी अशोककुमार जैरुले बालबालिकासम्बन्धी ऐन संशोधन गरी अपांगता भएका व्यक्तिको शिक्षाको अधिकारलाई प्रष्टसँग व्यवस्था गर्नुपर्ने धारणा राखे।
सांसद भगवती न्यौपानेले पछिल्लो समयमा कतिपय आमसञ्चार माध्यमले बालबालिकाको गोपनीयताको हकलाई बेवास्ता गरी समाचार सम्प्रेषण गर्ने गरेकाले ऐन संशोधन गरी त्यस सम्बन्धमा कडा कारबाहीको व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।