गण्डकी- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैयाँ चाँदीको…’ बोलको गीतलाई श्रोता/दर्शकले निकै रुचाएका छन्। गत कात्तिक ७ गते युट्युबमा सार्वजनिक गीत हालसम्म ५० लाखभन्दा बढी हेरिएको छ।
गीतमा गायक आशिष अविरल र गायिका मेलिना राईको स्वर छ। नवराज पन्तको शब्द रहेको गीतमा गायक अविरलले नै संगीत भरेका छन्। ठेट शब्द, मौलिक भाका र गायकीका कारण उक्त गीत दर्शक रोजाइमा पर्न सफल भएको हो। दर्शकको अपार साथसहित दोस्रो सातामा चलिरहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सँगै यस गीतले पनि चर्चा बटुलिरहेको छ।
गायक तथा संगीतकार आशिष अविरलका अनुसार ‘रैयाँ चाँदीको’ थेगो र भाका एक वर्षअघि तयार भइसकेको थियो। गीतकार नवराज पन्तले थेगो दिएपछि आफूले धुन भरेको अविरलले सुनाए।
‘गीत ल्याउने भन्दाभन्दै झन्डै एक वर्ष बितिसकेको थियो, शब्दले पनि पूर्णता पाइसकेको थिएन’, उनले भने, ‘अहिले सोही गीत फिल्ममा समावेश भयो। श्रोता/दर्शकले पनि अत्यधिक रुचाइदिनुभएको छ।’ फिल्म निर्माताले ३० को दशकमा प्रचलित भाका र शैलीको गीत मागेपछि शब्द तथा संगीतमा सामान्य परिमार्जनसहित उक्त गीत उपलब्ध गराइएको अविरलले बताए।
फिल्मको विषय र कथानकसँग मिल्दोजुल्दो भावमा बनेकाले निर्माताले पनि एकैपटकमा गीत स्वीकारेको उनको भनाइ छ। बागलुङे हुनुको नाताले गीतमा प्रयुक्त ‘रैयाँ चाँदीको म त बागलुङे मैँया मादीको…’ बोलको गीत गाउन पाउनु आफ्ना लागि विशेष रहेको अविरलले बताए। ‘यो गीत मेरो जिल्लावासीका लागि एउटा उपहारजस्तो पनि हुनपुग्यो, इतिहास बनाउन सफल फिल्मका लागि गीत गाउन र संगीत दिन पाउनु मेरा लागि सौभाग्यको विषय हो’, उनले भने।
गीतकार पन्तका लागि पनि यो गीत लेखन यात्रामा नयाँ मोड बन्न आइपुगेको छ। ‘सालको पातको टपरी’ जस्तो सर्वाधिक सफल लोकदोहोरी गीत रचना गरेका पन्तको पहिलोपटक फिल्मका लागि गीत लेखेका हुन्।
‘सेतो धर्ती’ उपन्यास पढ्दै गर्दा ‘रैयाँ चाँदीको’ थेगो फुरेको गीतकार पन्तले बताए। ‘उपन्यासकी पात्र ताराले मादी खोलो तरेको प्रसंग आउँदा एक्कासी मलाई यो गीतको शब्द फुर्यो, भोलिपल्ट घरमा गुन्गुनाउँदै थेगो तयार पारेँ’, उनले भने, ‘आशिष दाइले भाका तयार गरिसकेपछि गीत सार्वजनिक गर्ने हाम्रो योजना थियो तर काम अगाडि बढ्न सकेको थिएन, अहिले अचानक फिल्मका लागि गीत माग भएपछि गीतले पूर्णता पायो।’
गीतकार पन्तले थेगो परिवर्तन नगर्ने सर्तमा मात्र आफूले उक्त गीत फिल्मका लागि उपलब्ध गराउन तयार भएको बताए। ‘फिल्म निर्माताले पनि सहजै रुपमा हाम्रो आग्रहलाई स्वीकार गर्नुभयो। फिल्मको सार सुन्दै ३० को दशकको परिवेश झल्कने गरी रोधी बसेको शैलीमा शब्द लेखेँ। थेगो भने पुरानै कायम भयो’, उनले भने। ‘सुपरहिट’ फिल्ममा गीतकारका रुपमा प्रस्तुत हुँदा आफूलाई भाग्यशाली सम्झेको उनले सुनाए।
अमेरिकामा रहेका गीतकार पन्त डेढ दशकदेखि गीतलेखनमा सक्रिय छन्। बागलुङका पन्तले लेखेका ‘सालको पातको टपरी…’, ‘डाँडै फर्के सल्लो…’, ‘मायालुको सहरमा…’ लगायत गीत चर्चित छन्। लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमासमेत पन्तले शब्द लेखेका छन्। नेपाली लोकजीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई सजीव ढंगले शब्दमा उतार्न उनी सिपालु छन्।