बक्यौता नतिर्ने उद्योगमा बिजुली जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

हिमाल प्रेस २७ कार्तिक २०८१ १६:५५ | Tuesday, November 12, 2024
बक्यौता नतिर्ने उद्योगमा बिजुली जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- विद्युत बक्यौता नतिर्ने उद्योगहरूको लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। यही आइतबार बसेको मन्त्रिपरिषद्‌ बैठकले बक्यौता नतिर्ने उद्योगहरूमा लाइन जोड्ने निर्णय गरेको थियो। यही निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटको पेसी बुधबारलाई तोकिएको छ।

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङका बेला विभिन्न उद्योगहरूलाई डेडिकेटेड तथा ट्रंकलाइनबाट दिएको बिजुलीमा प्रिमियम जोडेर बिल पठाए पनि केही उद्योगहरूले तिर्न मानेका थिएनन्। पछिल्लोपल्ट त्यस्ता बक्यौता रहेका उद्योगहरूको संख्या ४९ वटा थियो। तीमध्ये ३४ वटाको लाइन काटिएको थियो। यसबीचमा १४ वटा उद्योग किस्ताबन्दीमा उक्त रकम तिर्न तयार भएका छन्।

मन्त्रिपरिषद्ले भने उद्योग बन्द हुँदा रोजगारी, राजस्व र आपूर्ति शृंखलामा असर परेको भन्दै २४ घण्टाभित्र बिजुलीको लाइन जोड्ने निर्णय गरेको थियो। सरकारको यो निर्णय विभेदकारी र राज्यहितविरीत रहेको भन्दै कार्यान्वयन गर्न नहुने रिट निवेदनमा दाबी गरिएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको यो निर्णय कार्यान्वयन नगर्ने बताइसकेका छन्। त्यस्तै प्राधिकरणका कर्मचारी युनियनले पनि सरकारको निर्णय प्राधिकरणविरुद्ध भएकोले कार्यान्वयन नगर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: २७ कार्तिक २०८१ १६:५५ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast