किरात धर्मगुरुले डा. शेखरलाई भने, देश र जनताको अभिभावक बन्न काँध बलियो बनाउनुहोस्

हिमाल प्रेस २७ कार्तिक २०८१ ११:४८
264
SHARES
किरात धर्मगुरुले डा. शेखरलाई भने, देश र जनताको अभिभावक बन्न काँध बलियो बनाउनुहोस् कांग्रेस नेता डा. शेखर कोइरालालाई स्वागत गर्दै किरात धर्मगुरु आत्मानन्द लिङ्देन। तस्बिर सौजन्य : कोइरालाको सचिवालय

इलाम- किरात धर्मगुरु आत्मानन्द लिङ्देनले कांग्रेस नेता डा. शेखर कोइरालालाई गिरिजाप्रसाद कोइरालाको कार्यभार सम्हाल्न अनुरोध गरेका छन्। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४०औँ जन्मजयन्तीका अवसरमा इलामको सन्दकपुर-४ मा कात्तिक २५ गते आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी डा. कोइरालालाई धर्मगुरुले यस्तो आग्रह गरेका हुन्।

डा. कोइरालाको काँधमा हात राख्दै लिङ्देनलले भने, ‘गिरिजाप्रसादपछि मुलुकले अभिभावक पाएन। त्यसको कार्यभार तपाईँले सम्हाल्नुपर्छ।’ लिङ्देनले डा. शेखरमा देश र जनताको अभिभावक बन्न गिरिजाप्रसादको झल्को आएको बताएका थिए। धर्मगुरुले डा. कोइरालालाई स्वागत गर्दै भनेका थिए, ‘तपाईँमा गिरिजाप्रसादको झल्को आयो। देश र जनताको अभिभावक बन्न काँध बलियो बनाउनुहोस्।’

लिङ्देनले डा. कोइरालालाई ‘तपाईँजतिको स्वच्छ मानिस अर्को छैन’ भनेर आफूले प्रमुख अतिथिका रूपमा बोलाएको बताएका थिए। यसअघि फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका राजा, गिरिजाप्रसाद कोइराला, सभामुखजस्ता विशिष्ट व्यक्ति जाने गरेका थिए। धर्मगुरुले यसपटक प्रमुख अतिथिका रूपमा डा. कोइरालालाई बोलाएका थिए।

कोइरालाले भने- संकोचका साथ प्रमुख अतिथि भएँ

डा. कोइरालाले फाल्गुनन्द लिङ्देनको १४० औँ जन्मजयन्तीको अवसरमा आयोजित आध्यात्मिक एवं धार्मिक कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्न गरेको अनुरोधलाई मैले बढो संकोचको साथ स्वीकारेको बताएका थिए। उनले भनेका थिए, ‘मेरो यस क्षेत्रमा रहेको ज्ञानको सीमितताका कारण यहाँ प्रमुख अतिथिका रूपमा उपस्थित भइरहँदा कताकता तपाईँहरूबाट पाएको माया, सदभाव र प्रेमलाई न्याय गर्न सक्दिन कि भन्ने संकोचमा छु।’

महागुरुको अवतरणले रमणीय भूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रका रूपमा पहिचान बनाउन सफल भएको कोइरालाको भनाइ थियो। उनले भनेका थिए, ‘नेपालको हिमाल–पहाडका बीच पल्लवित यस किराँत धर्म र संस्कृतिले हजारौँ वर्षदेखि नेपालभित्र मात्र होइन देशबाहिर पनि आफ्नो पृथक् पहिचान राख्न सकेकोमा हामी सबै गौरवान्वित छौँ।’

कोइरालाले किराँत धर्मावलम्बीहरूले आफ्नो लोकजीवनको उल्लास, खुसीयाली र सम्पन्नताका लागि देश विदेशमा पनि प्रसिद्धि कमाएको बताएका थिए। उनले भनेका थिए, ‘किरात समुदायले अन्तराष्ट्रिय समुदायबीच बनाएको पहिचानले नेपाली संस्कृति र सभ्यतालाई थप उचाइमा पुर्‍याएको कुरा इतिहासमा स्वर्णिम अक्षरले लेखिएका छन्।’

डा. कोइरालाले भविष्यमा पनि किराँत धर्म तथा साहित्य उत्थान संघ र किरात समुदायको हितमा समर्पित रहने प्रतिबद्धता जनाएका थिए। उनले भनेका थिए, ‘यो अलौकिक भूमिमा तपाईँहरूले मलाई बोलाएर जुन मान र सम्मान दिनुभयो त्यसले म भावविह्वल भएको छु। मलाई लाग्दछ- यो ममाथि महागुरु फाल्गुनन्दको कृपा हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast