डडेल्धुरामा बडाल जाँत सुरु हुँदै, देउवा पनि सहभागी हुने

हिमाल प्रेस २६ कार्तिक २०८१ १४:३१ | Monday, November 11, 2024
डडेल्धुरामा बडाल जाँत सुरु हुँदै, देउवा पनि सहभागी हुने

डडेल्धुरा- सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’बडाल जाँत साेमबारदेखि डडेल्धुरामा सुरु हुँदै छ। गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन आज राति (रतेडी) र दोस्रो दिन भोलि (दिउसेडी) कार्यक्रम हुने गरेको छ।

शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ। दाइन, दमाहा, रुइसिङ्ग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ।

लाटा गन्याप देवताको भक्तिस्वरूप बनाइने जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेल्ने गरिन्छ। मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ‘देउताको प्रतीक) ल्याउने चलन रहेको छ।

कुजाकोट, रुमायल, बडाल, थप्सालगायतका स्थानबाट देवरो आउने गरेको भए पनि मूल देवरो भने मालीगाउँबाट ल्याउने चलन रहेको छ। ढाल तरबार खेलाई नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुने गर्छ। मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापारसमेत हुने गरेको छ।

जाँतमा मंगलबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँदले जानकारी दिए।

प्रकाशित: २६ कार्तिक २०८१ १४:३१ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast