बाढीबाट गोटीखेलमा छ अर्बका संरचना ध्वस्त

हिमाल प्रेस २५ कार्तिक २०८१ १०:५६
38
SHARES
बाढीबाट गोटीखेलमा छ अर्बका संरचना ध्वस्त बाढीबाट बगरमा परिणत भएको गोटीखेल बजार क्षेत्र। तस्बिर : रासस

ललितपुर- दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ। गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो। बाढीपहिरोबाट छ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको महांकाल गाउँपालिका-३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए। उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो।

‘त्यहाँ पर खुवा कम्पनी थियो, त्यहीँ वैतर्णी मन्दिर थियो, १०८ शिवलिंग थिए, हवन कुण्ड, पक्की भवन थियो। संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो’, वडा कार्यालयबाट औँलाले देखाउँदै अध्यक्ष पराजुलीले भने। निरन्तरको झरीले पहिरो मात्र खसेन धामीखोलामा थुप्रिएको बालुवा, ढुंगा, माटो, रुखसहित बाढी गाउँबस्ती पसेपछि अकल्पनीय क्षति भएको हो।

बाढीपीडित स्थानीय प्रेम श्रेष्ठले भने, ‘मेरो र भाइ उत्तमको एउटा दुईतले पक्की भवन थियो, अर्को कच्ची दुवै बगे। वन, प्रहरी कार्यालय र सवारीसाधन सबै बगे। बाढीपहिरोमा परेर गाउँका तीनजनाको मृत्यु भयो। उनीहरूका घर भएका स्थान बगरमा परिणत भयो।’

२०५३ देखि विद्युत् उत्पादन गरिरहेको यहाँको साना जलविद्युत्गृहमा आंशिक क्षति भएको छ। बाढीले प्रहरीका दुईवटा आवासीय टहराका साथै हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति भएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए।

खानेपानीका अधिकांश ट्यांकी र पाइप नष्ट भएका छन्। दुई हजार तीन सय घरमध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न हम्मेहम्मे परेको छ। हालसम्म बाढीले बगाएका सडकको मर्मतसम्भार नहुँदा मूलसडकमा पुग्न कठिनाइ भएको अध्यक्ष केसीले बताए। –रासस

प्रकाशित: २५ कार्तिक २०८१ १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast