काठमाडौँ- यतिबेला नेपाली फिल्म क्षेत्र ‘पूर्ण बहादुरको सारङ्गी’ मय भएको छ। हलमा बिहान सात बजेदेखि मध्यराती पौने १२ बजेसम्मको सो खुलाइएको छ। अधिकांश हलमा सो हाउसफूल भइरहेको छ। दर्शकले पनि फिल्मको कथा र पात्रहरुको अभिनयले मन छोएको भन्दै सकारात्मक प्रतिक्रया दिइरहेका छन्।
दोस्रो सातामा चलिरहेको फिल्मले पहिलाे साता ८ करोड २५ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ। टिमले पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। साथै फिल्मले देशैभरका ८९ हलमा तीन सय ८० भन्दा बढी सो पाएको पोस्टरमा उल्लेख छ। जसअनुसार फिल्मले हालसम्मकै उच्च सो र एक साताको कलेक्सनमा रेकर्ड ब्रेक गरेको टिमको दाबी छ।
यसअघि ‘बेहुली फ्रम मेघौली’ले पहिलाे दिन ३ सय ४० भन्दा बढी साे पाएकाे टिमको दाबी थियाे।
गन्धर्व समुदायको कथामा आधारित फिल्ममा सन्तानका लागि बाबुले गर्ने त्याग र समर्पणको कथा प्रस्तुत गरिएको छ। फिल्ममा पूर्ण बहादुरको भूमिकामा अभिनेता विजय बराल छन्। विजय अर्थातपूर्णेको पत्नि बनेकी छन् अभिनेत्री अञ्जना बराइली। भने छोरा कमलेको भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत।
फिल्ममा अन्य कलाकार मुकुन भुसाल, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेललगायतको पनि अभिनय छ। महेश दवाडीको पटकथा र संवाद रहेको फिल्मका निर्देशक सरोज पौडेल हुन्।
यो सँगै हलमा तीन नेपाली फिल्म ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘सानो संसार’, दुई हिन्दी फिल्म ‘भुलभुलैया ३’ र ‘सिंगम अगेन’ चलिरहेको छ।