विद्यार्थी। फाइल तस्बिर । 
                                            काठमाडौँ- विद्यालय तहका विद्यार्थीको आन्तरिक मूल्यांकन उनीहरूले घरमा गर्ने कामबाट हुने भएको छ। पढाइलाई सीपसँग जोड्ने तथा श्रमको सम्मान गर्न विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले पाठ्यक्रम विकास केन्द्रले यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउन लागेको हो।
केन्द्रका महानिर्देशक इमानारायण श्रेष्ठले सम्भव भएसम्म आउने शैक्षिक सत्रदेखि नै यस्तो मूल्यांकन प्रणाली अवलम्बन गरिने जानकारी दिए। उनका अनुसार विद्यार्थीले घरमा गरेका जुनसुकै कामलाई आन्तरिक मूल्यांकन प्रणालीमा समावेश गरिने छ। घरमा गरिने सरसफाइ, भान्सा तथा खेतबारीमा गरेका कामलाई पनि यो मूल्यांकन प्रणालीसँग जोडिने छ।
यसरी मूल्यांकन गर्नका लागि बालबालिकाले घरमा गरेका कामको विवरणलाई अभिभावकले हस्ताक्षरमार्फत प्रमाणित गरेर विद्यालयमा पठाउनुपर्ने छ। विद्यार्थीले घरमा काम गरेको हो कि होइन भन्ने विषयमा सम्बन्धित कक्षा शिक्षकले अभिभावकसँग सोधखोज गर्ने छन् र सोही आधारमा अंक प्रदान गरिने केन्द्रले जनाएको छ।
अहिले कक्षा छदेखि १२ को सबै विषयमा कुल एक सय पूर्णाङ्कमा २५ अंक आन्तरिक मूल्यांकनबाट प्रदान गर्ने गरिएको छ तर २५ अंकमध्ये घरायसी कामका लागि कति अंक प्रदान गर्ने भन्ने विषयमा भने निर्णय नभएको केन्द्रले जनाएको छ। यो मूल्यांकन प्रणाली कार्यान्वयनका लागि आन्तरिक मूल्यांकन निर्देशिका परिमार्जन गर्न लागिएको छ।
‘यसको विस्तृत व्याख्या निर्देशिकाले गर्ने छ। हाम्रो माध्यमिक शिक्षाको उद्देश्यमध्ये एक उद्देश्य श्रमप्रति सम्मान गर्ने नागरिक तयार गर्ने रहेको छ तर हाम्रो व्यवहार र सोच भने भिन्न छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘श्रमप्रति विद्यार्थीमा उत्पन्न हुने वितृष्णा चिर्न यो मूल्यांकन प्रणाली फलदायी हुने विश्वास गरेका छौं।’
विगतमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको बालबालिकाको सिकाइ उपलब्धिसम्बन्धी विभिन्न अध्ययनले पनि घरमा काम गर्ने बालबालिकाको सिकाइस्तर राम्रो भएको देखाएको थियो। उक्त विषय कार्यान्वयनका लागि केन्द्रले लेटर ग्रेडिङ निर्देशिका अद्यावधिक गर्ने, सामाजिक अध्ययन, गणित र विज्ञान विषयको विशिष्टीकरण तालिका अद्यावधिक गर्ने कार्यलाई पनि अघि बढाएको छ। गोरखापत्र दैनिकबाट

                                             
                                             
                                             
                                             
                                             
                                             

