वडा अध्यक्ष राजन दंगाल पुर्पक्षका लागि कारागार चलान

हिमाल प्रेस २२ कार्तिक २०८१ १४:१८
46
SHARES
वडा अध्यक्ष राजन दंगाल पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ- मकवानपुरको बकैया गाउँपालिका-४ का वडअध्यक्ष राजन दंगाल पुर्पक्षका लागि कारागार चलान भएका छन्।  सरकारी कागजात किर्ते गरेको अभियोगमा दंगाल भीमफेदी कारागार चलान भएका हुन्।

जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले बुधबार सरकारी कागजात किर्तेको अभियोगमा दंगाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश गरेको थियो। आदेशअनुसार वडा अध्यक्ष दंगाललाई पुर्पक्षका लागि कारागार पठाइएको अदालतका अधिकृत दिलीप राईले जानकारी दिए। अध्यक्ष दंगालविरुद्ध गत असार दोस्रो हप्ता कागजात किर्ते गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

दंगाल ४ महिनापछि बुधबार अदालतमा उपस्थिति भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गुरुङको श्रीमान् भारतीय मूलका एमसी परेराले विगत ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएका थिए। प्रहरीका अनुसार गुरुङको नाममा ललितपुर, कीर्तिपुर र चितवनमा रहेको र सो जग्गा हत्याउने प्रयास अनुसार कागजात किर्ते गरी प्रक्रिया अघि बढाइएको थियो।

सोही अभियोगमा प्रहरीले गत असारमा वडाध्यक्ष दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, नक्कली छोरा बनेका पूर्णबहादुर ब्लोनसहित सर्जमिन मुचुल्कामा साक्षी बसेका स्थानीय ४३ वर्षीय सानुमान थिङ, ३९ वर्षीय जितमान थिङ, ३५ वर्षीय जमानसिं भुलून, ६९ वर्षीय रामबहादुर न्यासुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीले उनीहरू विरुद्ध लिखत सम्बन्धी कसुरमा अदालतमा मुद्दा दायर गरेको थियो।

बकैया–४ का ४६ वर्षीय ब्लोनलाई मृतक गुरुङको नक्कली छोरा बनाएर वडाध्यक्ष दंगालले १८ मंसिर ०८० मा मृत्यु दर्ता र नाता प्रमाणित लगायतका कागजात तयार पारिदिएका थिए। सोही घटनामा संलग्न रहेको आरोपमा वडा सचिव श्रेष्ठ, ब्लोन र न्यासुरलाई जिल्ला अदालतले २१ असारमा नै पुर्पक्षका लागि थुनामा पठाएको प्रहरीले जनाएको छ। गुरुङको २६ भदौ २०७४ मा मृत्यु भएको थियो।

प्रकाशित: २२ कार्तिक २०८१ १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast