छठका लागि बजारमा किनमेल गर्नेको भीड

हिमाल प्रेस २० कार्तिक २०८१ ९:५३
12
SHARES
छठका लागि बजारमा किनमेल गर्नेको भीड

काठमाडौँ- छठ पर्वका लागि किनमेल गर्नेको भीडभाड बढेको छ। मंगलबारबाट विधिवत रूपमा सुरू भएको छठ पर्वका लागि किनमेल गर्नेको भीडभाड बढेको हो। छठ पर्वका लागि चाहिने प्रसादलगायतका सामग्री किनमेल गर्नेको जनकपुरसहित ग्रामीण क्षेत्रका बजारमा भीडभाड बढेको छ।

छठ पर्वलाई लक्षित गरी ग्रामीण क्षेत्रमा बजार लाग्न थालेपछि किनमेलका लागि जनकपुर बजारमै भरपर्ने बाध्यता अन्त्य भएको छ। यद्यपि छठ पुजाका सामग्री किनमेल गर्न जनकपुर बजारमा बिहानैदेखि भीडभाड हुने गरेको छ।

ढकना (माटोले तयार पारिएको भाँडो), गाग्री, नाङलो, डगरी (बाँसले तयार पारिएको सानो आकारको नाङलो), माटोले तयार पारिएको हात्तीको आकृतिलगायतका सामग्री किनमेल गर्नेहरूको बजारमा घुइँचो देखिएको छ।

बुधबार हुने छठ पर्वको मुख्य विधि खरनाका लागि केराको माग बजरामा सबैभन्दा बढी देखिन्छ। छठ पर्वका लागि केरा सबैभन्दा बढी महत्वपूर्ण ठानिन्छ।
भाकलअनुसार अधिकांश ब्रतालुले केराको घाडीले पुजा गर्ने गरेका छन्।

छठ पर्वको मुखमा केराको मूल्य अकाशिएको ब्रतालुहरूको भनाइ छ। नभइ नहुने भएकाले मूल्य वृद्धि भए पनि खरिद गर्नैपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। केही दिनअघिसम्म दर्जनको ४०-५० रूपैयाँमा पाइने केरा यतिबेला जनकपुर बजारमा १५० सम्म बिक्री भइरहेको छ।

छठ पर्वमा केराको अत्याधिक माग हुने गरेकाले जनकपुरको विभिन्न स्थानमा बजार लगाइएको छ। रामनन्द चोक, भैरव चौक, जिरोमाइललगायतका स्थानमा केराको बजार लगाइएको छ।

छठ पर्वमा नेपालकै उत्पादन पर्याप्त नहुने भएकाले भारतबाट समेत केरा आयात गरिएको फलफूल व्यवसायीहरू बताउँछन्। महँगोमा खरिद गर्नुका साथै मागअनुसार आयात हुन नसक्दा केराको मूल्य वृद्धि भएको फलफूल व्यवसायीहरूको भनाइ छ।

फलफूल व्यवसायी रवीन्द्रकुमार साह मागअनुसार आपूर्ति हुन नसकेपछि केराको मूल्य वृद्धि भएकोे बताउँछन्। फलफूल व्यवसायीहरूका अनुसार छठ पर्वका लागि मात्रै जनकपुरसहित आसपासका क्षेत्रका लागि १५० ट्रकभन्दा बढी केराको माग रहेको छ।

प्रकाशित: २० कार्तिक २०८१ ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =