विदेशी अखबारले समेटेको श्री ३ पद्मशमशेरको धूमपानविरोधी त्यो सन्देश

हिमाल प्रेस १७ जेठ २०७९ १०:५६ | Tuesday, May 31, 2022
विदेशी अखबारले समेटेको श्री ३ पद्मशमशेरको धूमपानविरोधी त्यो सन्देश

काठमाडौँ– आज ३१ मे, सुर्तीजन्य पदार्थविरुद्धको दिवस। हरेक वर्ष मे ३१ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र यस संगठनका साझेदारले विश्व धूमपान तथा सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउँदै आएका छन्। यो दिवस मनाउनुको उद्देश्य सुर्ती सेवन र धूमपानले व्यक्ति स्वयं र वरपरका व्यक्तिमाथि पार्ने हानिकारक तथा घातक प्रभाव र जोखिमबारे जागरुकता फैलाउनु हो।

विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धूमपानरहित दिवस मनाउन सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएका थिए। त्यस्तै १९८८ मा हरेक वर्ष मे ३१ मा विश्व धूमपानरहित दिवस मनाउन आह्वान गरिएको थियो।

नेपाल सुर्तीजन्य वस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी त्यसको सदस्य राष्ट्र बनिसकेको छ।

नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो। उक्त महासन्धिको सदस्य राष्ट्र भएसँगै महासन्धिका प्रावधान पनि कानुनसरह लागू हुने व्यवस्था छ।

नेपालका तत्कालीन प्रधानमन्त्री पद्मशमशेर जबराले सुर्तीजन्य वस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तय हुनुभन्दा धेरैअगाडि देशबासीलाई एक सन्देश प्रवाह गरेका थिए। सन् १९४७ मा प्रवाह गरेको उक्त सन्देशमा उनले विदेशबाट चुरोट आयात गर्दा ठूलो रकम विदेशिने उल्लेख गरेका थिए।

सन्देशमा आफूले तीन वर्षअघिदेखि चुरोट खान छोडेको र जनतालाई समेत चुरोट खान छोड्ने चेष्टा गर्नेछौँ भन्ने उल्लेख थियो।

पद्मशमशेरको आसय चुरोट आयातका लागि मुलुकबाट बाहिरिने रकमलाई बचत गर्नु र चुरोटको ठाउँमा नेपालमा खेती हुने तम्बाखु भने सेवन गर्नु भन्ने थियो। तर स्वास्थ्यका लागि चुरोट र सुर्तीजन्य पदार्थ तम्बाखुसमेत उत्तिकै हानिकारक मानिन्छ।

नेपालबासीलाई श्री ३ महाराज पद्मशमशेर जंगबहादुर राणाको सन्देश शीर्षकमा सन् १९४७ सेप्टेम्बर २२ अर्थात् २००४ साल असोज ६ गते गोरखापत्रमा छापिएको थियो। सन्देश त्यतिबेला भारतीय समाचार एजेन्सी एपीआईले सम्प्रेषण गरेको थियो। त्यही एजेन्सीबाट भारतका धेरै अखबारले उक्त खबर प्रकशित गरेका थिए।

यस्तै भारतीय एपीआईले सम्प्रेषण गरेको समाचार  दी इन्डियन एक्स्प्रेसको १५ अक्टोबर १९४७ मा छापिएको थियो।

प्रकाशित: १७ जेठ २०७९ १०:५६ | Tuesday, May 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast