पूर्वमुख्य सचिव अर्यालको मुद्दामा भर्चुअल माध्यमबाट सुनुवाइ

हिमाल प्रेस १२ कार्तिक २०८१ १५:०४ | Monday, October 28, 2024
पूर्वमुख्य सचिव अर्यालको मुद्दामा भर्चुअल माध्यमबाट सुनुवाइ

काठमाडौँ- नेपाल सरकारका पूर्वमुख्यसचिव डा.बैकुण्ठ अर्यालमाथिको भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा भर्चुअल माध्यमबाट सुनुवाइ भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्यालविरूद्ध दायर गरेको भ्रष्टाचार मुद्दामाथिको सुनुवाइ सोमबार भर्चुअल माध्यमबाट भएको हो।

पूर्वमुख्यसचिव अर्यालसहित प्रतिवादी रहेका सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले अमेरिकाको कान्सास राज्यबाट भर्चुअल माध्यमबाट बहस गरेको विशेष अदालतले जनाएको छ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय डा.खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासमा भर्चुअल माध्यमबाट सुनुवाइ भएको प्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिएका छन्।

सार्वजनिक सरोकारका विशेष मुद्दाहरूमा प्रत्यक्ष सुनुवाइ गर्ने लक्ष्यसमेत राखिएको विशेषले जनाएको छ।

नेपालको न्यायिक परिपाटीमा विदेशबाट समेत बहस छलफल सुनी पक्षहरूको स्वच्छ सुनुवाईको हक संरक्षित गर्ने न्यायमा पहुँचको अधिकारअन्तर्गत भएको प्रविधियुक्त यो नौलो प्रयोग रहेको विशेषको ठम्याइ छ।

विशेष अदालतले उपलब्ध गराएको न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न समस्त कानुन व्यवसायी तथा सेवाग्रहीलाई आग्रह गरेको छ।

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गत वर्ष चैतमा भर्चुअल माध्यमको सुरूवात गरेका थिए। त्यसपछि देशका विभिन्न जिल्ला र विदेशबाट समेत साक्षी वकपत्र भर्चुअल माध्यमबाट हुँदै आएको छ। सुर्खेत, झापालगायतका जिल्ला अदालतसँग समन्वय गरी प्रतिवादीहरूको बयान गराई थुनछेक बहस र आदेशसमेत भर्चुअल माध्यमबाट हुँदै आएको विशेषले जनाएको छ।

भर्चुअल सुनुवाइको सेवा जनकपुरलगायतका स्थानबाट कानुन व्यवसायीहरूले लिँदै आएका छन्।

प्रकाशित: १२ कार्तिक २०८१ १५:०४ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast