मंसिर २० र २१ मा नेपालगञ्ज कनक्लेभ हुने

हिमाल प्रेस ११ कार्तिक २०८१ २०:३९
16
SHARES
मंसिर २० र २१ मा नेपालगञ्ज कनक्लेभ हुने

नेपालगञ्ज– समृद्ध र दिगो भविष्यको बाटोमा नेपालगञ्ज कनक्लेभको दोस्रो संस्करण आउँदो २० र २१ मंसिर नेपालगन्जमा हुने तय भएको छ। धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्दै आएको छ।

यसपटक आठ वटा सत्रमा छलफल गरिने तय भएको नेपालगञ्ज कनक्लेभका निर्देशक जनक नेपालले बताएका छन्। ‘कनक्लेभमा स्थानीय सरोकारको मुद्दादेखि राष्ट्रिय महत्त्वका समसामयिक विषयमा बहस हुनेछ,’ निर्देशक नेपालले भने, ‘गतवर्ष निकै गहन र अर्थपूर्ण बहसहरू भए। सोही सफलताबाट उत्साहित भएर यसपटक सत्रहरू बढाएका छौँ।’

यसपटकको कनक्लेभमा स्थानीय मुद्दाका रूपमा नेपालगञ्जको उर्जा संकटलाई बहसको विषय बनाइएको छ। नेपालगञ्ज कनक्लेभको अर्कोसत्र जलवायु परिवर्तनले निम्त्याउन लागेको संकट र अनुकूलनको रणनीतिमा केन्द्रित हुनेछ। यसै गरी हाम्रो शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारबारे अर्को सत्र सञ्चालन हुनेछ।

नेपालगञ्ज कनक्लेभमा अर्थतन्त्र सुदृढीकरणका लागि व्यापार घाटाको दिगो व्यवस्थापनबारे पनि छलफल हुनेछ। सो सत्रमा नेपालले वर्षौँदेखि भोग्दैआएको व्यापार घाटा कम गर्न र हाल निर्यात गरिरहेका वस्तुमा मूल्य वृद्धिका उपायबारे छलफल हुने क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए।

अर्थतन्त्रसँगै जोडिएको अर्को विषय पर्यटनमा अर्को सत्र सञ्चालन हुनेछ। त्यसमा नेपालको पर्यटन व्यवसायको नक्सामा पश्चिम नेपालको सम्भावनाको खोजी हुने र पश्चिम नेपालमा बन्न सक्ने नयाँ पर्यटकीय सर्किटबारे बहस हुने अपेक्षा गरिएको ठकुरीले बताए।

‘नेपालगञ्ज कनक्लेभ १० औँ धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा हुनेछ। त्यसैले खेलकुद्लाई जोडेर अर्को महत्त्वपूर्ण सत्र छ- किन दौडिन्छ मानिस? जहाँ म्याराथनको मात्र कुरा हुनेछैन, जीवन र जगत, करिअर र संघर्ष अनि, सिर्जना, सफलता र सन्तुष्टिबारे छलफल हुनेछ,’ उनले भने।

साहित्यमा यसपटक नेपाली आख्यानबारे पनि चर्चा हुनेछ। साथै यसपटक राजनीतिक सत्र पनि थपिएको छ।

नेपालगञ्ज कनक्लेभका दुवै दिनका शुभारम्भ विद्वत प्रवचनबाट हुनेछन् भने बहुभाषिक कविता वाचन र मुशायरा पनि सँगै हुने अध्यक्ष ठकुरीले बताए।

कनक्लेभका सत्र शीर्षक र वक्ताहरु छिट्टै सार्वजनिक गरिनेछ। २२ मंसिरमा १०औँ धारा नेपालगञ्ज म्याराथनको घोषणा भइसकेको छ।

प्रकाशित: ११ कार्तिक २०८१ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast